राजविराज– नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसका अवसरमा सप्तरीका पत्रकारहरुले शुक्रबार १० किलोमिटर पदयात्रा गरेका छन्। सप्तरी सदरमुकाम राजविराजदेखि सुरु भएको पदयात्रा भारतीय सिमावर्ती क्षेत्र तिलाठीमा पुगेर समापन भएको थियो।
दशगजामा खाँडो नदीको सहज निकास तथा अन्तर्राष्ट्रिय सिमा क्षेत्रमा आत्मसम्मान सहितको मैत्री सम्बन्ध विकासका लागि पदयात्राको आयोजना गरिएको हो।
विकासमा महत्वपुर्ण योगदान पुर्याउन सक्ने राजविराज–कुनौली सडकको गुणस्तरीय निर्माण तथा सिमावर्ती क्षेत्रमा देखिँदै आएका विभिन्न समस्याहरु माथि राज्यको ध्यानाकर्षण गर्न पनि पदयात्राको आयोजना गरीएको महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले बताए।
खासगरी सिमावर्ती क्षेत्र तिलाठीसँग जोडिएको दशगज्जा क्षेत्रको खाँडो नदीमा भारतीयहरुले समय–समयमा गर्ने अवरोध तथा बाँधका कारण आसपासका क्षेत्रहरु डुबानमा पर्दै आएका छन्। यस्ता विभिन्न समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन पदयात्राले महत्वपुर्ण भुमिका निर्वाह गर्ने महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झाले बताए।
समयमै समस्याको समाधानमा ध्यान नदिँदा विभिन्न समयमा दुई देशका नागरिकका बीचमा झडपको अवस्था समेत आएको बताउँदै झाले भने, ‘दुवै देशको उच्चस्तरीय संयन्त्रवाट सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि राज्यलाई ध्यानाकर्षण गराउन पदयात्रा फलदायी हुनेछ।’
सप्तरीका पत्रकारहरुले स्थानीय समस्या तथा विकास निर्माणमा सरकारको ध्यानाकर्षण गराउन यसअघि पनि पदयात्राको कार्यक्रम आयोजना गर्दै आएका थिए। २०६७ मा राजविराज–सखडा तथा २०६८ सालमा पनि राजविराज–तिलाठीको पदयात्रा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।