काठमाडौं– माइतीघर मण्डलामा पछिल्लो ४ दिनदेखि अनसनरत एक विद्यार्थीको स्वास्थ्य अवस्था जटिल बनेपछि वीर अस्पताल भर्ना गरिएको छ। शिक्षा ऐन नवौं संशोधनको विरोध गर्दै विद्यार्थी संघर्ष समिति, नेपालको संयोजनमा ३ विद्यार्थीहरु सोमबारदेखि आमरण अनसनमा छन्।
अनसनरत त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका विद्यार्थी मिलन बास्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सकको सल्लाहमा उनलाई वीर अस्पताल भर्ना गरिएको समितिका संयोजक पुष्कर शर्माले जानकारी दिए।
‘साथीहरुले पानी पनि नपिइकन अनसन बसिराख्नु भएकोले स्वास्थ्य स्थिती कमजोर बन्दै गएको छ।’, संयोजक शर्माले भने, ‘मिलनजीको स्वास्थ गम्भीर बनेपछि वीर अस्पतालमा भर्ना गरिएको छ। अन्य दुई साथीहरुको पनि स्वास्थ्य अवस्था बिग्रदों छ।’
अहिले उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ। पहिलेदेखि नै मृगौलाको समस्या भएको र शरीरमा पानीको मात्रा न्युन हुँदै गएकोले उनको स्वास्थ्य अवस्था जटिल बनेको चिकित्सकले बताएका छन्।
‘अस्पतालमा उपचार गराए पनि उहाँले अनसन भने नतोड्ने बताउँनु भएको छ।’, संयोजक शर्माले भने।
अनसनमा बसेका अन्य २ विद्यार्थीहरु राजन लम्साल र हेमराज थापाको स्वास्थ्य पनि क्रमिक रुपमा कमजोर बन्दै गएको बताइएको छ।
समितिले शिक्षा ऐन नवौं संशोधनले विद्यार्थी र देशको समग्र शैक्षिक प्रणालीलाई गम्भीर असर गर्ने भन्दै लगातार विरोध जनाइरहेको छ।
२०७४ असोज ३ गते संसदबाट जारी शिक्षा ऐन (२०२८) को नवौं संशोधनको कार्यान्वयनस्वरुप शिक्षा सेवा आयोगले भने चैत्र २३ गते अस्थायी शिक्षकहरुको परिक्षाको मिति तोकेको छ। ऐनको संशोधनविरुद्ध सर्वोच्चमा परेको मुद्दा हाल विचाराधिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।