डडेल्धुरा- हिमपातका कारण सडक अवरुद्ध भएपछि बिचल्लीमा परेका बिरामी एक बिरामीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फ डडेल्धुराबाट उद्धार गरिएको छ। बिहीबार दिउँसो भिरबाट खसेर अचेत अवस्थामा रहेकी दार्चुलाको लेकम गाउँपालिका-४ की ३८ वर्षीया माधवी पाललाई डडेल्धुरा अस्पतालबाट उद्धार गरी बाँकेको कोहलपुर मेडिकल कलेज ल्याइएको हो।
डडेल्धुरा अस्पतालमा उपचार गराउन आएकी ती बिरामीको अवस्था गम्भीर भएको भन्दै अस्पतालले सुविधासम्पन्न अस्पतालमा रेफर गरेको थियो। तर सडक अवरुद्ध भएपछि उनको उद्धार हुन सकेको थिएन।
सिकिस्त बिरामीको उद्धार गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयले खर्च व्यहोने गरी उनको उद्धार गरिएको हो। थप उपचारको लागि उनलाई बाँके जिल्लाको कोहलपुर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेलले पुष्टि गरे।
माधवीलाई दार्चुला अस्पताल, पाटन अस्पतालमा हुदैँ डडेल्धुरा अस्पतालमा शुक्रबार साँझ भर्ना गरिएको थियो। उनको टाउकोमा गम्भीर चोट रहेको अस्पतालले जनाएको छ। बाख्रा गोठालो गएका बेला भिरबाट लडेर उनलाई चोट लागेको र ३ दिनयता उनी अचेत रहेको उनका श्रीमान नवलबहादुर पालले बताए।
यता मृगौलामा समस्या भई डडेल्धुरा अस्पतालमै रहेका जिल्लाको अमरगढी-१० का गोविन्द भण्डारीलाई भने हेलिकोप्टरले लैजान मानेन। हेलिकोप्टरको क्षमता ६ जना भएकाले उनलाई लैजान नसकेको बताइएको छ।
उनलाई पनि डडेल्धुरा अस्पतालले अन्य अस्पताल लैजान भनेको थियो। भण्डारीकी श्रीमती सरु भण्डारीले हेलिकोप्टरबाट उद्धारको माग गरेकी थिइन्। हेलिकोप्टरले उद्धार गर्न नमानेपछि उनले भनिन्, 'हामीलाई हेलिकोप्टर आउँछ, आउँछ भन्यो। अहिले लगेन, हामी समस्यामा छौं।'
यो पनिः
हिमपात : बिरामीलाई बज्रपात!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।