काठमाडौं- कर्तव्य ज्यान मुद्दासहित विभिन्न अपराधमा संलग्न भएको आरोपमा अदालतले सजाय सुनाएका एक फरार अभियुक्त पक्राउ परेका छन्।
हत्या‚ डकैती तथा लुटपाटमा संलग्न भएको आरोपमा साइला भनिने दुर्गाबहादुर तामाङ्गलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो।
ब्यूरोले कास्कीको चुम्राङ्गबाट पक्राउ परेका तामाङ्ग आफ्नो सही पहिचान बदली छद्म भेष धारण गरी लुकीछिपी बस्दै आएका थिए।
तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत धादिङ बुझाइएको ब्यूरोले जनाएको छ।
२०६७ कात्तिक १० गते शिव थापाको हत्यामा संलग्न भएको आरोपमा तामाङलाई जिल्ला अदालत धादिङले ५ वर्ष कैद सजाय सुनाएको छ। धादिङ्गको दार्खा -१ पातले भिरमा थापाको हत्या भएको थियो।
यसैगरी उनीमाथि अर्को पनि कर्तव्य ज्यान सम्बन्धी मुद्दा लागेको छ। २०६९ मंसिर १९ गते जिल्ला धादिङ दार्खा-१ रातमाटेमा भीषण सिंखडाको हत्यामा समेत संलग्न भएको आरोप लागेको छ।
तामाङ्गसमेतले धारिलो हतियार प्रहार गरी सिंखडाको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ।
यसैगरी उनले २०७६ जेठ ८ गते कैलाश दिक्षितलाई धादिङ खनियाबास-१ पर्चे भन्ने स्थानमा तामाङसहितको टोलीले बाटो छेकेर घेरा हाली धारिलो हतियार देखाएर ६ लाख १० हजार नगद लुटेका थिए।
दिक्षितका साथबाट उनीहरूले मोबाईल समेत लुटी घटनास्थलबाट फरार रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।