आफ्नै मुलुकमा अनागरिक भएर बाँच्नुको पीडा सायदैले बुझ्छन्। सन्देहको आँखाले हेरिने हामी मधेसीहरूलाई आफ्नै मुलुकले कहिले बुझ्ला? हामीलाई मान्छेकै आँखाले मान्छेकै दर्जामा राखेर कहिले हेर्ला?
त्यसैले बेला बेलामा स्वयम्लाई प्रश्न गर्छु- आफ्नै देशमा नेपाली हुन अझै कति वर्ष लाग्छ मलाई?
हुन त धेरै यात्राहरूमा मैले निलिसकेको छु- विभेदले सल्काएको आगो।
तापनि यो विभेदविरुद्ध बोल्नैपर्छ। आवाज घन्काउनै पर्छ।
जोड्न चाहन्छु केही प्रसंग।
शुक्रबारको दिन। हेटौंडाबाट काठमाडौं यात्रामा निस्कनु थियो। टिकटको लागि हेटौंडाको टाटा सुमो स्ट्यान्डमा गएँ। टिकट काउन्टरमा एक युवक बसेका थिए। हेर्दा उमेरले म भन्दा भाइ नै थिए।
पहाडी मूलका ती युवकले आफ्नो लबज बिगार्दै मसँग हिन्दीमा कुरा गर्न थाले। मलाई उनको संवाद अस्वभाविक र विभेदपूर्ण लाग्यो। असहज लागेर मैले भनें, 'भाइ, म नेपालकै नागरिक हुँ। मलाई नेपाली मज्जाले बोल्न आउँछ। किन हिन्दीमा कुरा गरेको?'
उनी केही अन्कनाए जस्तो गरे।
'ए भैया! गाडीमा बस्नुस्,' त्यतिकैमा बस चालकले मलाई भने।
मलाई असहज महसुस भइरहेको थियो। फेरि काउन्टरका ती टिकट काट्ने युवकले थपे, 'किन टेन्सन लिनुभएको। यो गाडीको बीचमा बस्ने तपाईंकै जातका तीन जना छन्।'
जात?
मान्छेले मान्छेलाई मान्छे नदेख्ने कस्तो जात? के मधेसी समुदाय पैतालाको धुलो हो? उनको व्यवहार र हामीलाई हेर्ने आँखाले मनमा बेस्सरी घोच्यो।
दिमागमा प्रश्न उब्जियो, 'यो जुनीमा आफ्नै देशको नेपाली हुने सौभाग्य मलाई प्राप्त हुन्छ कि नाइँ?'
मलाई लाग्यो, 'नेपालमा जन्म लिएर नेपाली नागरिकता प्राप्त गरेर मात्र नेपाली हुन नसकिने रहेछ मेरो देशमा!'
मनको एक कुनामा सधैं लागिरहन्छ, 'भैयाबाट भाइ र हिन्दीबाट नेपाली कहिले हुने हो कुन्नी?'
शुक्रबार यही बह स्टाटसको रुपमा फेसबुकमा पोष्ट गरेँ। मन अलिक सन्तोक भयो। कसैलाई बदनाम गराउने आशयले लेखेको पनि होइन। आफ्नो अभिव्यक्ति पोख्ने माध्यम थियो, फेसबुक। त्यसको सहायता लिएको मात्र हुँ।
म त केही पढेलेखेको छु। आफ्नो कुरा प्रष्ट भन्न र लेख्नसक्छु। एउटा जागिरमा बाँधिएको छु। मैले त यो किसिमको अपमान भोग्न बाध्य छु भने सोचौं त देशमा लाखौं मधेसी नेपाली जो निरक्षर छन्। जो नेपालीसमेत त्यति प्रष्टसँग बोल्न जान्दैनन्, उनीहरूको आर्थिक र सामाजिक अवस्था कमजोर छ।
उनीहरूले झन् कति पीडाबोध गर्छन् होला?
विभिन्न भूगोलमा जाँदा बोली र व्यवहारमा मधेशीहरूप्रति सम्मान गर्नेहरू मैले कमै भेटेको छु।
'भैया, मदिसे, इन्डियन' लगायतका शब्द व्यवहारबाट मधेसी समुदाय सधैं पीडित छ।
यस्तो सोच, चेतना र मानसिकताको अन्त्य हुन जरुरी छ। त्यसका लागि हामी सबै नेपालीले आफ्नो र सरकारी स्तरबाट सिर्जनात्मक पहल गर्न ढिला गर्नुहुँदैन। एकता नै ठूलो बल हो भन्ने कुरा हामीले बिर्सनुहुन्न। नत्र मुलुकमा द्वन्द्वको अवस्था सधैं आइरहनेछ। जसले मुलुक नै कमजोर हुँदै जान्छ।
राज्यले पनि त्यो सोचिदिनुपर्छ। मधेसीहरूलाई सधैं सीमान्त बनाएर, कानुन र अधिकारका जस्ता कुरामा विभेद गरेर सकारात्मक परिवर्तन सम्भव छैन।
विभेदले प्रतिशोधको भावना पैदा गर्छ। अब त्यस्तो नहोस् भन्ने एउटा आशाको बत्ती मनमा बालेको छु।
मेरो हकमा मलाई कसैले नेपाली हैनस् भन्नु वा त्यही किसिमको व्यवहार गर्नु त्यो संकोचित मानसिकताको उपज हो। म यही देशमा जन्मेको नागरिक। हुर्केँ, पढे र नागरिकता पाएँ। यही देशको औपचारिक र वैधानिक पहिचान पाएको छु।
नेपालबाहिर जुनसुकै देशमा गए पनि मेरो पहिचान नेपाली नै हो। त्यहाँ मलाई मधेसी वा मैथिली भन्दा पहिले नेपाली भनेर चिनिन्छ। यहाँसम्मकी म बाल्यकालमा भारतमा रहेको मामाघर जाँदा मेरो मामाले मलाई नेपलीया भनेर मायाले बोलाउनुहुन्थ्यो।
मैले कसैको अगाडि मैले आफूलाई आफनो राष्ट्रियताको प्रमाण दिइराख्न जरुरी ठान्दिनँ। किनकि म मेरो देशप्रति त्यही माया, प्रेम र सम्मान गर्दछु। जसरी भगवान रामले आफ्नो अयोध्याप्रति गर्दथे।
उनी वनबास गए पनि अयोध्यालाई आफनो हृदयमा राखेर गएका थिए।
नेपाली पछिमात्र मेरो पहिचान मधेसी हो र मैथिली हो। म मेरो देशको मधेशी नेपाली हो। म आफूलाई मधेशी नेपाली, मैथिल नेपालीको पहिचान गौरवसाथ दिनसक्छु। मैले पहाडी समुदायका नेपालीप्रति सदैव सम्मान गर्न सक्छु। उनीहरूलाई सधैं आफ्नो सोच्न सक्छु।
त्यसैले त मुलुकमा मधेसी नेपाली र पहाडी नेपालीबीच समानता, सद्भाव र एकता अपरिहार्य छ। देशको प्रगति, शान्ति र समृद्धिको लागि पनि यसको विकल्प छैन।
देशमा थुप्रै राजनीतिक आन्दोलन, सहमति र त्यसका आधारमा सत्ता सञ्चालन भए जसले केही हदसम्म सकारात्मक परिवर्तन गराउन सफल भए पनि।
तर तीतो यर्थाथ यो पनि हो कि हाम्रो देशसँगै प्रजातिन्त्रक व्यवस्थामा प्रवेश गरेका विभिन्न देश आज जुन विकास र प्रगतिको शिखरमा पुगेका छन्, तिनको तुलनामा हामी निकै पछाडि छौं। कारण विभिन्न होलान्। तर राष्ट्रिय एकता मजबुत नहुनु पनि एक महत्वपूर्ण कारण हो।
मसित हिजो जुन व्यवहार भयो त्यो न त मेरो लागि पहिलो पटक थियो न त आम मधेशी नेपालीसित नै। यो त मलगायत लाखौं मधेसी नेपालीले प्रत्येक दिन भोगिरहेको अवस्था हो। देशमा राजनीतिक तथा संवैधानिक परिवर्तनपछि पनि व्यवहार परिवर्तन नहुनु पीडादायी कुरा हो।
मलाई त्यस्तो व्यवहार गर्ने उनीहरूप्रति कुनै आक्रोस छैन। बरु चिन्ता छ कि हामीले देशमा राजनीतिक परिवर्तन तथा व्यवस्था परिवर्तन त ठूलै गर्यौं तर चेतनास्तर र सोचमा परिवर्तन ल्याउने कार्यमा चुक्यौं।
विषेशतः पहाडी नेपाली समुदायको विशेष जिम्मेवारी छ सोच, चेतना र व्यवहारमा उल्लेखनीय परिवर्तन ल्याउन, सिर्जनात्मक सामाजिक र सांस्कृतिक अभियान नै सञ्चालन गर्न।
साथै मधेसका नेपाली समुदाय (खासगरी मधेसी भनिने)ले आफ्नो पहिचान र स्वाभिमानको लडाइँ यही देशभित्र खोज्नुपर्दछ। यसलाई सानो, सामान्य र नियतिको विषय बनाएर हामीले बेवास्ता गर्दै गयौं भने यो समस्याले झन् विकराल रुप लिँदै जान्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।