प्युठान- नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको साथबाट मात्रै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा हुने बताएका छन्। तर,देशको सम्वृद्धिका लागि निर्माण व्यवसायीमैत्री वातावरण आवश्यक रहेको उनको भनाइ छ।
शुक्रबार जुम्रीमा सम्पन्न नेपाल निर्माण व्यवसायी संघ प्युठानको पाचौं साधारणसभालाई सम्बाेधन गर्दै उनले राष्ट्र विकासका लागि निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सरकारसँग निर्माण क्षेत्रका व्यवसायीहरुलाई काम गर्ने उचित वातावरण मिलाउन आग्रह गरे। अध्यक्ष सिंहले सरकारी नीति अव्यवहारिक भएकाले निर्माण व्यवसायीले ठूलो मार खेप्नु परेको दुखेसो पोखे।
‘निर्माण व्यवसायीलाई सक्षम बनाउने पहिलो दायित्व राज्यको हो,’ उनले भने, ’त्यसका लागि लगानीमैत्री वातावरण आवाश्यक छ।’ अहिलेको सरकारले सार्वजनिक खरिद ऐन संशाेधन गरी निर्माण व्यवसायीलाई धरासायी पार्न खोजेको आरोप लगाउँदै उनले आफूहरुले त्यसमा असहमती जनाएको बताए।
सार्वजनिक खरिद ऐन सच्चाउन सरकार समक्ष २२ बुँदे मागपत्र समेत पेश गरिएको उनले सुनाए। तर पछिल्लो समय सरकारले निर्माण व्यवसायीहरुको हितमा गरेका प्रयासहरु सकरात्मक रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।