काठमाडौं- प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णयको पक्षमा उभिन पार्टीले दिएको निर्देशन प्रदेशका अधिकांश नेकपा सांसदले नमान्ने भएका छन्।
गत पुस १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडामा राख्ने निर्णय गरेको थियो। बैठकले उक्त प्रस्तावका पक्षमा उभिन नेकपा प्रदेश सभा सदस्यलाई निर्देशन दिने निर्णयसमेत गरेको थियो।
तर नेकपाका प्रदेश सभा सदस्यहरूले उक्त निर्देशन मान्न अस्वीकार गर्दै काभ्रेलाई प्रदेशको केन्द्र बनाउन हस्ताक्षर अभियान चलाएका छन्। काभ्रेको पक्षमा नेकपा सांसदले मतदान गरे कांग्रेसका सांसदले समेत सघाउने रणनीति बनाएको बताइएको छ।
‘पार्टीको निर्देशन मान्न बाध्यकारी हुँदैनौं। धेरै साथीको मत काभ्रे हुनुपर्छ भन्ने छ। काभ्रेको पक्षमा हस्ताक्षर जारी छ‚’ नेकपाका तर्फबाट प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेयले भने। पाण्डेयसहित अष्टलक्ष्मी शाक्य‚ केशव स्थापित लगायतका नेता यो अभियानमा लागेका छन्। प्रदेशको नाम र राजधानीको निर्णय पारित हुन ७४ मत आवश्यक पर्छ।
प्रदेश ३ सभा कार्य व्यवस्था समितिको बिहीबारको बैठकले पुस २१ मा बस्ने प्रदेश सभा बैठकमा राजधानी र प्रदेशको नामका लागि कार्यसूची तयार गरेको छ। प्रदेश र राजधानी टुंग्याउन प्रदेश सभामा २२ गते मतदान हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।