काठमाडौं- नेकपाले राष्ट्रिय सभा निर्वाचनका लागि चयन गरेका उम्मेदवार स्थानीय तह तथा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकादेखि जनताको बहुदलीय जनवाद (जबज) का व्याख्यातासम्म अटाएका छन्।
संघीय संसदको माथिल्लो सदनका लागि चयन भएका उम्मेदवारमा चारजना निर्वाचनमा पराजित व्यक्ति पर्न सफल भएका छन्। गोरखाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठसँगै अन्य दुई जनाले स्थान बनाउन सफल भएका हुन् । श्रेष्ठलाई गण्डकी प्रदेशको ‘अन्य’ बाट उम्मेदवार बनाइएको छ। उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।
अर्का उम्मेदवार जगप्रसाद शर्मा गत निर्वाचनमा दाङबाट प्रदेशसभा पराजित भएका थिए। उनी नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ का नाता पर्ने व्यक्ति हुन्। दाङ ३ ‘क’ बाट तत्कालीन माओवादी केन्द्रका उम्मेदवार भएका उनी कांग्रेसका डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए।
अर्की उम्मेदवार विमला घिमिरे पनि पराजित उम्मेदवार हुन्। तत्कालीन एमालेबाट उम्मेदवार बनेकी उनी कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्। अर्की उम्मेदवार भगवती न्यौपाने तनहुँको भानु नगरपालिका प्रमुखमा पराजित भएकी थिइन्।
त्यस्तै तत्कालीन एमालेको मुख्य राजनीतिक मुद्दा जबजका व्याख्यता बेदुराम भुसाल पनि अटाएका छन्। अघिल्लो पटक राष्ट्रिय सभामा स्थान नपाएका उनी यसपटक पर्न सफल भएका हुन्। नेकपाको सिद्धान्तका नेताका रुपमा रहेका भुषालले हालै मात्र जबजमा पिएचडी गरेका थिए।
नाता–सम्बन्ध
राष्ट्रिय सभा उम्मेदवार सिफारिसमा नाता सम्वन्धले पनि स्थान पाएको छ। जर्नादन शर्मादेखि प्रधानमन्त्री केपी ओलीका पूर्व पीएलेसम्म स्थान पाएका छन्। त्यस्तै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईकी सासुले पनि स्थान पाएकी छन्।
उम्मेदवार बनाएकामध्ये इन्दु गौतम प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईकी सासू नाता पर्छिन्।
अर्का उम्मेदवार देवेन्द्र दाहाल नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट छन्। उनी ओलीका पीए भइसकेका व्यक्ति हुन्। हाल उनी नेकपा केन्द्रीय सदस्य हुन्। २०५३ सालमा महाकाली सन्धि विवादमा मनमोहन अधिकारीको प्रोक्सी मत उनैले हालेपछि उक्त सन्धि तत्कालीन एमालेको केन्द्रीय कमिटीबाट पारित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।