काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ राउण्ड शनिबारदेखि सुरु हुने भनिए पनि खराब मौसमको कारण देखाउँदै २ दिन पर सारिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब वर्षाको कारण देखाउँदै शनिबारदेखि सुरु हुने लिगको पाँचौ राउण्डका खेलहरु सोमबारसम्मलाई सारिएको जानकारी दिएको हो।
शनिबार दिउँसो १२ बजे दशरथ रंगशालामा न्यु रोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने थियो। त्यस्तै, शनिबार दिउँसो ३ बजे लिगको शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबले लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने खेल तालिका थियो।
तर एन्फाले शुक्रबार पानी परेको हुँदा यहि अवस्थामा खेल खेलाउन नसक्ने भन्दै सोमबारसम्मलाई सारेको हो। अब एनआरटीले सोमबार १२ बजे जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, ३ बजे मनाङले मछिन्द्र क्लबसँग खेल्नेछ।
त्यस्तै, मंगलबार हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबसँग खेल्नेछ। बुधबार भने दुई खेल हुनेछ। पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने छ। बिहीबार हुने लिगको पाँचौ राउण्डको खेलमा संकटाले विभागीय टिम एपीएफ क्लबसँग खेल्दा आर्मीले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
पानी परिरहेकाले दशरथ रंगशाला मैदानको अवस्था निकै नाजुक छ। खेलाडीहरु पनि हिलाम्य मैदानमा खेल्नुभन्दा एन्फा मैदानमा खेल्ने मनस्थितिमा देखिन्छन्। २ दिन पर सरेपनि मैदानको अवस्था सुधार हुने पर्याप्त समय भने देखिदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।