काठमाडौं- प्रदेश ५ सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ।
खराब वर्षाको कारण प्रदेश ३ र प्रदेश ५ बीच शुक्रबार भएको खेल नतिजा विहीन भएपछि दुबै टिमले १–१ अंक बाँडे। योसँगै प्रदेश ५ प्रतियोगिताबाटै बाहिरिएको हो।
यसअघि प्रतियोगिता अन्तर्गत पहिलो खेलमा प्रदेश ५ प्रदेश १ सँग ६८ रनले पराजित भएको थियो। अब शनिबार समूह ‘सी’ को अन्तिम खेलमा प्रदेश १ र प्रदेश ३ बीच प्रतिस्पर्धा हुँदै छ। विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछ।
खेलमा प्रदेश ३ ले दिएको १९० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको प्रदेश ५ ले २.१ ओभरमा १ विकेटको क्षतिमा ९ रन बनाएपछि वर्षाको कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सुचारु हुन सकेन ।
यस अघि टस जितेर ब्याटिङ रोजेको प्रदेश नम्बर ३ ले ४५.२ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो। प्रदेश ३ को लागि सुवास खकुरेलले सर्वाधिक ४२ रन बनाए। आदिल खानले २६, रित गौत्तमले २२, प्रतिस जिसीले १८, सोनु तामाङले १५, रामनरेश गिरिले १७ र इशान पाण्डेले १२ रन बनाए।
बलिङतर्फ प्रदेश ५ का लागि विशाल बिक्रम केसीले सर्वाधिक ५ विकेट लिए। अनिल खरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले १ –१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।