कपिलवस्तु - कपिलवस्तुबाट निर्वाचित प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतमा सांसद शाहलाई ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेको थियो।
सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा बिहीबार जाहेरी दर्ता भएको थियो। कपिलवस्तु ३ बाट निर्वाचित सांसद शाहविरुद्ध स्थानीय श्यामकुमार मिश्राले जाहेरी दर्ता गरेका थिए। गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।
अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नायब उपरीक्षक (डिएसपी) सुनील मल्लले जानकारी दिए।
शाह सांसद भएकाले संघीय संसद्लाई जानकारी दिने प्रक्रिया बुझिरहेको मल्लले बताए। संघीय संसदलाई जानकारी दिएपछि शाहमाथि अनुसन्धान अघि बढाउने डिएसपी मल्लले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।