काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल ढोकामा विगत १७ दिनदेखि नेपाल विद्यार्थी संघका कार्यकर्ता रिले अनसनमा छन्। पार्टीको ‘नर्सरी संगठन’ नेविसंघमा उमेर हद कायम गर्न उनीहरुको माग छ।
‘हामी अरु जान्दैनौं, ३२ वर्षमाथि मान्दैनौं’ उनीहरुले व्यानरमार्फत् नेतृत्वलाई सुनाएका छन्। पार्टी नेताहरुलाई आफ्ना मागप्रति ३० सेकेन्डमात्रै सुनाउन उनीहरु चाहन्छन्। तर, पार्टी नेतृत्वले उनीहरुको मागलाई बेवास्ता गर्दै आएको छ।
मंसिर २६ देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरु पटक–पटक केन्द्रीय कार्यालय पुगे। मूलढोकाबाट बाँया टाँगिएको व्यानर र मागबारे सुन्ने चेष्टा गरेनन्। अनसनरत नेविसंघ कार्यकर्ताको ‘नेतागण ३० सेकेन्ड यता हेर्न मिल्छ?’ लाई नेताहरुले ठाडै बेवास्ता गर्दै आएका छन्।
विगत १७ दिनदेखिको रिले अनसनको दिउँसो सत्र विद्यार्थी नेताले धानेका छन्। रात्री अनसन पुरुष विद्यार्थी नेताहरुले पालो दिएका छन्। पाँच जनाको दरले दिनहुँ अनसन पालैपालो बस्दा दर्जनौ संघका कार्यकर्ताले अनसनमा भाग लिइसकेका छन्। नेताहरुको ओहोर दोहोर केन्द्रीय कार्यालयमा दिनहुँ जस्तो भएपनि पार्टी नेतृत्वले उनीहरुको माग सुनेको नसुन्यै गरेको छ।

केन्द्रीय समितिको बैठक भएको बेला पार्टी नेतृत्वसहित केन्द्रीय सदस्यहरुको उपस्थिति सानेपा बाक्लिने हुँदा अनसनरत विद्यार्थी निकटका विद्यार्थीहरु नाराबाजी गर्छन्। माग सुनाउन प्रयास गर्छन। तर, नेतृत्व विद्यार्थीको भिड हटाएर उनीहरुको आवाज सुन्दै नसुनी कार्यालय प्रवेश गर्छ।
१२ औं महाधिबेशनका लागि २१ जिल्लामा अधिवेशन भइसकेको छ। १२ औं महाधिवेशनबाट लागू हुने गरी बनेको विधानमा ३२ वर्षे उमेर हद कायम गरिएको छ। त्यसैको आधारमा २१ जिल्लाको अधिवेशन भएको छ। अनसनरतपक्षको माग विधानको कार्यान्वयनको क्रम सुरु भइसकेकाले तदर्थ समिति पनि त्यसै अनुरुप हुनुपर्ने छ।
पार्टी संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष १२ औं महाधिवेशनबाट लागू हुने गरी विधान बनेकाले तदर्थ समितिमा उमेर हद कायम नहुने अडानमा छ। पौडेल पक्षले ४६ प्रतिशत आफ्नो हिस्सा पाए तदर्थ समितिमा सहभागी हुने जनाएको छ। तर,पार्टी सभापति शेरबहादुर देउवा ३५ प्रतिशत पौडेल पक्षलाई र १५ प्रतिशत कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीलाई भागबण्डा दिएर तदर्थ समिति बनाउने आन्तरिक तयारीमा छन्।
भागबन्डामा नलागेर उमेर हदको कार्यान्वयन हुनुपर्ने आवाज सिटौला पक्षका विद्यार्थीहरुको छ। सिटौला पक्षका विद्यार्थी नेताहरु पनि उठाइएका मागमा विभाजित भएको बताइएको छ। अनसनरत विद्यार्थीहरुलाई उक्त समूहका कतिपय विद्यार्थी नेताको सक्रिय समर्थन नरहेको बताइएको छ।

पार्टी नेतृत्वका तीन समूहलाई भाग चाहिएकाले पद्धति र विधानलाई बेवास्ता गरिएको एक विद्यार्थी नेताको आरोप छ। पार्टीले उपलब्ध गराएको विधानलाई कार्यान्वयनको माग गर्न अनसन बस्नुपर्ने अवस्था आएको भन्दै उनले नेतृत्वप्रति दुखेसो व्यक्त गरे।
पार्टी नेतृत्वप्रति आक्रोश राख्दै उनले भने, ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलको छोरा अनसन बसेको भए सुन्थे होला।’ उनीहरुको नाति/नातिनी पुस्ताले संगठनको चिन्ता गरी अनसन बस्दासमेत पार्टीमा छलफल नहुनु दुःखद भएको उनले बताए।
महामन्त्री शशांक कोइराला, नेताहरु बलबहादुर केसी, डा रामशरण महत, डा शेखर कोइराला, सुजाता कोइरालालगायतका नेता उमेर हदको लागू हुनुपर्ने पक्षमा रहेको बताइएको छ। नेता प्रकाशमान सिंहले उमेर हदको प्रावधानअनुसार जिल्ला अधिवेशन भएकाले तदर्थ समिति पनि उमेर हद लागू गरी गठन गर्नुपर्ने बताए।
रिले अनसनको नेतृत्व गरिरहेका संघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीले तदर्थ समिति ३२ वर्ष माथिबाट ल्याए आमरण अनसन बस्ने चेतावनी दिए। उनले भने, ‘उमेर हद लागू विधानअनुसार जिल्लाहरुको अधिवेशन गर्न खट्यौं। अब तदर्थ समिति ३२ वर्षमाथिको ल्याए मान्य हुँदैन।’
११ औं महाधिवेशनबाट संघको अध्यक्षमा चुनिएका नैनसिंह महरलाई राजीनामा गराएपछि गत माघदेखि नेविसंघ कार्यसमिति विहिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।