जनकपुर- एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएकाे बम विस्फोटका मुख्य योजनाकार पक्राउ परेका छन्। प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेका हुन्।
प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका फरार राइनलाई धनुषा प्रहरीले घटना घटेको २२ दिनपछि पक्राउ गरेकाे हाे। मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको मृत्यु भएकाे थियाे।
पक्राउ परेका राइन नेत्रविक्रम चन्द 'विप्लव' समूहका केन्द्रीय सदस्य रहेको प्रहरीले जनाएकाे छ। राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी श्रोतले जनाएको छ।
मंसिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने करिब ९ जनाको पहिचान भइसकेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्मकुमार कार्कीले बताएका छन्। राइन पक्राउ परेको धनुषा प्रहरीले आधिकारिक जानकारी नदिए पनि धनुषा प्रहरी स्राेतले उनलाई पक्राउ गर्न सफल भएको दाबी गरेकाे छ।
धनुषा प्रहरीले एक/दुई दिनभित्रै पत्रकार सम्मेलनको आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरिररहेकाे बुझिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।