दाङ– दाङ प्रहरीले चितुवाको छालासहित १ जनालाई पक्राउ गरेको छ।
अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई १ वटा चितुवाको छाला र ८ वटा दाँतसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्युठान स्वर्गद्वारी नगरपालिका–५ घर भइ हाल चौघेरामा डेरा गरी बस्ने परियारलाई चितुवाको छाला, ८ थान दाँतसहित मंगलबार साँझ पक्राउ गरी सार्वजनिक गरेको हो।
कब्जा गरेको छाला, दाँत र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए।
कब्जा गरिएको चितुवाको छालाको ५ फिट ११ इन्च लम्बार्इ र ४ फिट ३ इन्च चौडाई रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।