कपिलवस्तु- कपितवस्तुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ।
कपिलवस्तु-३ बाट निर्वाचित सांसद शाहविरुद्ध स्थानीय श्यामकुमार मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै जाहेरी दिएको प्रहरीले जनाएको छ। राप्रपाका केन्द्रीय सदस्य तथा कृष्णनगर नगरपालिकाका प्रमुखका प्रत्यासि मिश्राले इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका हुन्।
गत पुस ५ गते साँझ आफूलाई घरमा बोलाएर ज्यान लिने योजना बनाएर कुटपिट गरेको भन्दै मिश्राले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। घटना ५ गते घटेपनि प्रहरीले भने १२ दिनपछिमात्र जाहेरी दर्ता गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनील मल्लले शाहविरुद्ध उजुरी दर्ता भएको पुष्टि गरे। अदालतबाट पक्राउको अनुमति लिन भने बाँकी रहेको डिएसपि मल्लले जानकारी दिए।
बिहीबार ढिला गरी जाहेरी दर्ता गरिएकाले शुक्रबार अदालतको अनुमति लिएर आवश्यक काम अगाडि बढाउने डिएसपि मल्ले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।