काठमाडौं- विभागीय टिम एपिएफ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा एपिएफले सरस्वती युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो। एपिएफको जितमा दुबै गोल आशिष लामाले गरे। यता, सरस्वतीका लागि विनोद केसीले गोल गरे।
पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा एपीएफले २ गोल गर्दा १ गोल खान पुग्यो।
खेलको ६३औं मिनेटमा एपिएफका लागि आशिष लामाले गोल गर्दै अग्रता दिलाए। खेलको अतिरिक्त समयमा नविन लामाको पासमा आशिषले गोल गर्दै २–० गोलको अग्रता दिलाए। तर त्यसको एक मिनेट वित्न नपाउँदै विनोद केसीले गोल गर्दै खेल २–१ गोलको स्थितिमा ल्याए पनि सरस्वती क्लबलाई हारबाट बचाउन भने सकेनन्।
जितपछि एपिएफले ४ खेलबाट ४ अंक बनाएको छ। पराजित सरस्वती भने ४ खेलमा अंक विहीन छ।
लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ। उसको ४ खेलबाट १० अंक छ। लिगको दोस्रो स्थानमा मछिन्द्र क्लब ९ अंक बनाएर रहँदा तेस्रो स्थानमा भने ९ अंक नै बनाएको विभागीय टिम आर्मी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।