गौशाला– महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए।
नकबजनी चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार २०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहर चैत ६ गते पखाला लागेर बिरामी भएका थिए। सोही दिन बिहानदेखि जिल्ला अस्पताल जलेश्वरमा उनको उपचार भइरहेको थियो।
कैदी मुसहरलाई अत्यधिक पखाला लागेको, जीउ सुन्निएको र क्षयरोगको समेत संकेत देखा परेको बताउँदै जेलर ठाकुरले उनको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको जानकारी दिए।
मृतक कैदी मुसहरको शव परिवारजनले बुझेर अन्तिम संस्कारका लागि घर लैजाने तयारी भइरहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।