प्यारी बुढी सोनिया,
आज हाम्रो बिहे भएको एक महिना पुरा भएछ। अनि म तिमीबाट टाढा भएर जर्मनी गएको मात्र पाँच दिन। छुट्टिएको धेरै भएको छैन, त्यही पनि तिम्रो नाममा एउटा पत्र लेख्न मन लाग्यो। यो पत्र तिम्रो याद अनि तिमीजस्तै आफ्नो जन्मघर छाडेर नयाँ घरलाई सहर्ष स्वीकार गर्न सक्ने मन, समर्पण अनि त्याग गर्ने नारी सम्झेर लेख्दैछु।
तिमीले आफू जन्मेको गाउँ, परिवेश अनि परिवार छाडेर आफ्नो सिउँदोमा मेरो नामको सिन्दूर लगाएपछि कस्तो महसुस गरेको हौली भनेर मेरो मनमा खेलिरहेको छ। तिम्रा भाडाकुटी खेल्ने साथी, खुट्टे खेल्ने चौर अनि लुकामारी खेल्ने चोक। कत्तिको मिस गरेकी छौ भनेर जान्न मन लागेको छ। तिमीलाई अझै पनि तिम्रो घरनजिकैको ढुङेधाराको पानी पिउन कति मन लागेको छ, जान्न मन लागेको छ।
पितृसतात्मक समाजमा हुर्केका हामी पुरुषले नारीले गर्ने त्यागलाई कति सजिलै लिन्छौं। एउटा नारीले अन्जान पुरुषका लागि आफू हुर्केको आँगन, आमाको काख, बाबाको साथ छोड्दा कति दुःख महसुस भयो होला भन्ने कहिल्यै सोच्दैनौं। आफ्नो जन्मघरमा घामले डाँडो काट्दा उठने छोरी, बिहेको भोलिपल्टै बुहारी बनेर घाम नझुल्कँदै उठ्दा कति गार्हो भयो होला भन्ने हेक्कासम्म राख्दैनौं।
आफ्नो शिर कहिल्यै नझुकाएकी तिमी, विवाहपछि सासु–ससुराको अघि हरपल पछ्यौरा टाउकोमा बेरेर शिर निहुराउँदै हिँड्दा कस्तो हुन्छ होला भन्ने कहिल्यै सोच्दैनौं।
हामी पुरुष घरमा पनि महान हुन्छौं, बिहेपछि ससुरालीमा पनि चाहिएभन्दा बढी सत्कार पाउछौं। अनि त्यस्तै खोज्छौ पनि। तर पतिलाई बिहानै चिया लगिदिने, ससुरालाई तातोपानी तताइदिने अनि जेठाजुलाई कतै झुक्किएर छोइन्छ कि भनेर सतर्क भइरहनुपर्ने संस्कृतिले नारीलाई कति गार्हो भयो होला भन्ने सोच्दैनांै।
नारीको हरपल परीक्षण गरिन्छ - खाना पकाउन, कपडा धुन, भाडा माँझ्न, यस्तै–यस्तै। तर समाजले लिने यस्ता परीक्षामा पनि उनीहरु सधैं खरो उत्रिन्छन्। हिजोसम्म खुला पंख फिजाउँदै उड्ने नारीलाई आज हरपाइलामा परीक्षण हुनु पर्दा कति गाह्रो हुन्छ होला है।
बुढी, मेरो मनमा अहिले यस्तै नारीको त्याग अनि बलिदानका कुरख खुब याद आउँदैछ। मेरी आमा, भाउजु अनि तिमी, सबै महान छौ, जसले आफ्नो जन्मघर त्यागेर नयाँ घरलाई मन्दिर बनायौं। तिम्रो त भर्खर बिहे भयो। मेरी आमा अनि भाउजुलाई उहाँहरूका बा–आमालाई भेट्न पनि तीज कुर्नुपथ्र्यो रे। कस्तो पीडा भयो होला है उहाहरूलाई? तर मैले उहाँहरूबाट कहिल्यै गुनासो सुनिनँ। त्यही भएर त नारीलाई महान भनिएको होला हगि?
प्यारी, हामी त भाग्यमानी हौं। किनकि हामी बिहेपछि छुट्टिएर बस्नु पर्दैन। म केही दिनमा आईहाल्छु। तर सोच त ती नारीहरूलाई जसले हामीजसरी मंसिर १४ मा बिहे गरेको भोलिपल्टै आफ्नो बुढालाई खाडी मुलुकका लागि आँशुले बिदाइ गर्नु परेको छ। बिचरा नारी, जसको साथ पाउछु भनेर बा–आमा छाडेर बिहे गरेर आउँछिन्, उसले नै छाडेर विदेशिन्छ।
कैयौं श्रीमान त बिहेको भोलिपल्ट विदेशिएर काठको बाकसमा फर्केका घटना हाम्रो समाजमा धेरै छन्। कस्तो हुन्छ होला हगि, ती नारीलाई जसले पतिको माया महसुस गर्न नपाई विधवा बन्नुपर्छ। हामी पुरुष साँच्चिकै स्वार्थी छौं– बिहेमा श्रीमतीलाई उपहारस्वरुप दिने सिन्दूर अनि रातो बस्त्र पनि आफू मरेर जाँदा सिन्दूर पुछाएर खाली सिउँदो बनाई सेताम्मे बनाएर जान्छौं।
बुढी, म तिमीलाई छाडेर पहिला नै गएछु भने पनि मैले तिमीलाई विवाह दिएको उपहार फिर्ता नगर्नु ल। मैले तिमीलाई मायाले लोइरी भनेर बोलाउने नाम पनि सँगालेर राख्नु है।
लोइरी, तिमीले हातका चुरा बजाउँदै तपाईंकै आवाज भनेको, स्वयम्बरको औंठी देखाउँदै तपाईंले मेरो हात मायाले चुमिरहनुभएको छ भनेको अनि तिलहरी देखाउँदै हजुरले मलाई हरपल अङगालोमा बेरिरहनु भएको छ भनेको बहुत याद आइरहेको छ। तिमी अब मेरो आयु बढाउन तिजको निराहार व्रत बसौली, मेरो इच्छाअनुसार चल्न खोजौली, आफ्नो खुसी तिलान्जली दिँदै मेरो खुसी खोज्ने हौली होइन? तर बुढी, म त्यो बुढा बन्न चाहन्न जो तिम्रो आयु घटाई आफ्नो आयु बढाओस्, तिम्रो शिर आफ्नो पैतालामा पर्दा गर्व गरोस्। व्रत बसेर आयु बढ्ने नै रहेछ भने हामी दुवै व्रत बस्नेछौं ताकि हामी दुवैको आयु बढोस् किनकि तिमीविना म अधुरो छु अनि मलाई बाँच्न पनि गाह्रो हुनेछ।
तिमी एकपाइला सार, म अर्को पाइला सार्नेछु। तिमीले कपडा धुँदा, म पानी हाल्नेछु। तिमीले खाना पकाउँदा, म तरकारी केलाउनेछु। तिमीले बाहिरको काम हेरे मैले घरको काम हेर्नेछु। तिमीले घरको काम हेरे, मैले बाहिरको हेर्नेछु। तिमीलाई पछि लगाएर म अघि बढ्ने छैन, तिमीसँग साथसाथै हिंड्नेछु किनकि अहिले म अनि तिमीबाट हामी भएका छौं।
अनि एउटा कुरा भनँु? तिमीसँग सात जुनीसम्म होइन लाखौं जुनीसम्म सँगै हुने मन भएकाले बिहेको जग्गेमा सातचोटि होइन लाखौंचोटि घुम्ने इच्छाले घुम्दै थिएँ। पण्डितले रोके। अनि लगनगाँठो पनि मज्जाले कसेर बाँधेको छु, सायद तिमीले त्यसको असर महसुस गरिसक्यौ कि? तिमीजस्ता नारीको महानता धेरै भए पनि कति कुरा यो पत्रमा उतार्न सकिनँ। तर व्यवहारमा उतार्न प्रयास गर्नेछु भन्दै योपत्र यही टुंग्याउछु।
उही तिम्रो लोइरो
झलक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।