पोखरा– हावाहुरीका कारण पोखराको फेवातालमा फसेका सात जनाको प्रहरीले उद्धार गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली आइतबार ६ युवती र एक युवकको उद्धार गरेको हो।
फेवातालमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरी चलेपछि उनीहरुले हारगुहार मागेका थिए।
सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई मोटर बोटको सहायताले उद्वार गरेको थियो ।
उद्वार गरिएकाहरुमा काठमाडौंका २० वर्षीया सृजना गुरुङ्ग, वर्ष २४ की जेशिका कार्की, वर्ष २७ की ममता तामाङ, वर्ष २२ की दिक्षा कार्की, वर्ष २३ की एन्जीला श्रेष्ठ, वर्ष २३ की एन्जीला सुवेदी र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका २६ बस्ने वर्ष २१ का सुमन मल्ल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।