विराटनगर– घरमा लागेको आगोमा परी सुनसरीमा एक बालकको मृत्यु भएको छ।
कोसी गाउँपालिका १ का विन्देश्वर मलिकका छोरा १२ वर्षीय सुरजको जलेर मृत्यु भएको हो। विन्देश्वर र उनकी श्रीमती ३५ वर्षीया सविता घाइते भएका छन्। मृतकको शव इनरुवा अस्पतालको शव गृहमा राखिएको छ भने घाइते दुवै जनाको सोही अस्पतालाम उपचार भइरेहको छ।
गोठमा बालेको घुरबाट अचानक घरमा आगलागी भएको थियो। आगोले ३ वटा घर तथा सम्पूर्ण सामान जलेर नष्ट भएको छ। दमकल, प्रहरी र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।
यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका १०, हडियाका गणेशप्रसाद निरौलाको घरमा आगलागी हुँदा करिब २० लाख मूल्य बराबरको क्षति भएको छ। आगोले २ तले घर, सुनचाँदीका गहनालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरी चौकी हडियाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।