भैरहवा– सरकारले तोकिएको समयमै काम सम्पन्न गर्ने गरी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गरे पनि रुपन्देहीमा सञ्चालित आयोजना भने सुस्त गतिमा छन्। रुपन्देहीमा राष्ट्रिय गौरवका आयोजना लुम्बिनी गुरुयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा राष्ट्रिय प्राथमिकता आयोजनाको रुपमा बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग र विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालित छन्। यी आयोजनाको काम बाहिरबाट रफ्तारमा देखिए पनि भित्री रुपमा निकै सुस्त छन्।
लुम्बिनी गुरुयोजना
बुद्ध जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकासका लागि २०३५ सालअघि नै लुम्बिनी गुरुयोजना निर्माण भएको थियो। जापानका वास्तुकलाविद प्रोफेसर डा. केन्जो टाँगेले ४१ वर्ष अगाडि गुरुयोजना तयार गरेर सरकारलाई बुझाए पनि अहिलेसम्म पुरा हुन सकेको छैन। गुरुयोजना तयार भएको चार दशकमा ८२ प्रतिशतमात्र काम सम्पन्न भएको छ।
निकै सुस्त गतिमा काम भइरहेकाले बाँकी १८ प्रतिशत सम्पन्न हुन कति वर्ष लाग्ने हो टुंगो छैन। लुम्बिनी विकास कोषले भने ३ वर्षभित्र सक्ने दावी गर्दै आएको छ। कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले गुरुयोजना अन्तरगतका महत्वपूर्ण र ठूला आयोजना सम्पन्न हुने क्रम रहेकाले आगामी ३ वर्षभित्र गुरुयोजना सम्पन्न हुने बताए।
(1).jpg)
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७१ माघ १ गते शिलान्यास भएको थियो। ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले शिलान्यास गरेको विमानस्थलको निर्माण अझै सम्पन्न भएको छैन। ०७४ पुस १६ गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि हालसम्म ८५ प्रतिशतमात्र काम सम्पन्न भएको छ।
दुइपटकसम्म म्याद थपिएको विमानस्थल निर्माणको काम फेरि लम्बिएको छ। सन् २०२०को शुरुवातमा परीक्षण उडान गर्ने भनिए पनि विमानस्थलको काम अरु ३ महिना लम्बिने भएको हो।

यही डिसेम्बरमा बाँकी काम पूरा गरेर जनवरीमा परीक्षण उडान गर्ने तयारी थियो। तर उपकरण आयातमा भएको ढिलाइ, ठेकेदार कम्पनीलाई आवश्यक रकम भुक्तानीको समस्या र ठेकेदारको व्यवस्थापनमा कमजोरी भएका कारण काम सक्न ढिलाइ भएको आयोजनाको भनाइ छ।
विमानस्थल आयोजनाले २०२० को मार्च महिनामा परीक्षण उडान गर्ने गरी काम अगाडि बढाएको छ। सन् १९५८ देखि सञ्चालित ६१ वर्ष पुरानो विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको निर्णयसँगै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १गते अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए।
निर्माण सुरु भएको ३ वर्षमै पूरा गर्ने लक्ष्य लिइए पनि मधेश आन्दोलन, भारतीय नाकाबन्दी, बन्द हड्ताल, निर्माण सामग्रीको अभावजस्ता कारणले काम सकिएन। यसको यसअघि २ पटकसम्म म्याद थपिएको थियो भने जनवरीमा परीक्षण उडान गर्न सम्भव नभएपछि फेरि अवधि लम्बाइएको छ।
विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलका निर्माणका महत्वपूर्ण काम सकिएका छन्। धावनमार्ग, ५१ हजार ८ सय मिटरको विदेशी जहाज पार्किङ स्थल र ८ हजार १ सय ९० मिटरको स्वदेशी जहाज पार्किङ स्थल, मुख्य प्रशासनिक भवन, २ किलोमिटर बढी घाँघरा खोला डाइभर्सन, विद्युतीय सब स्टेशन, १६ सय मिटर नाली, ५ दशमलब ८ किलोमिटर फेन्सिङ निर्माणको काम पनि पूरा भैसकेको छ। अहिले १५ हजार एक सय ६९ वर्ग मिटरको मुख्य टर्निमल भवन, २ हजार एक सय ४१ वर्ग मिटरको कन्ट्रोल टावर भवन, पाँचहजार वर्ग मिटरको आन्तरिक यात्रु आवागमन टर्मिनल र १५ हजार वर्ग मिटरको अन्तरौष्ट्रिय यात्रु कक्ष निर्माणको काम चलिरहेको छ।
संगै लिंक ट्याक्सी मार्गको पीच, अग्नि नियन्त्रण कक्ष निर्माणको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। विमानस्थल वरपर तारबार, ओभरहेड पानी ट्यांकी निर्माणको काम सम्पन्न हुने अवस्थामा छन्। ९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँ लागतमा कार्गो भवन पनि निर्माणकै चरणमा छ।आयोजनाका अनुसार अहिले ८४ प्रतिशत भौतिक निर्माणको काम पूरा भएको छ।
अधिकांश भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र फिनिसिङको काम सकिन लागेकाले प्राविधिक उपकरण मगाउने कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको आयोजना प्रमुख अधिकारीले बताए। ६ अर्ब ८० करोड रुपैयाँ लागतको यो विमानस्थलमा एशियाली विकास बैंक (एडीबी)को ऋण ४० दशमलव ५ प्रतिशत, एडीबीको अनुदान ८ प्रतिशत, ओएफआईडी ऋण ३० दशमलव ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लागत साझेदारी छ। सन् २०१४ नोभेम्बर १३ मा ८५ दशमलव ५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभीएशनसँग आईसीबी १ नम्बर परियोजनाका लागि ७८ दशमलव ३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो। नर्थवेष्ट कम्पनीले करीब ५० जना चिनियाँसहित चारसय कामदारलाई दैनिक दुई सिफ्टमा काम गराइरहेको छ।
यता पर्यटन मन्त्री योगेश भट्टराईले २०२० को भ्रमण वर्ष सुरुवातसँगै विमानस्थल सञ्चालनमा ल्याउने बताइरहेका छन्। तर, सञ्चालनमा आउने छाँट छैन। बजेटदेखि नदीजन्य पदार्थको समस्याले मारमा पर्दै आएकाले पनि आयोजना समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ। आयोजना प्रमुख अधिकारीले आगामी मार्च ३० तारिखसम्म विमानस्थल सञ्चालनको लागि योग्य हुने बताए।
विशेष आर्थिक क्षेत्र (सेज)
राष्ट्रिय प्राथमिकता आयोजनाको रुपमा रहेको विशेष आर्थिक क्षेत्र (सेज) करिब १६ वर्ष अघिबाट निर्माण सुरु भएको हो। ६९ वटा प्लट रहेको सेजमा ३ वटा उद्योगमात्र सञ्चालनमा छन्। सरकारले सेजको ३ पटक उद्घाटन गरिसक्यो, तर पूर्णता भने पाउन सकेको छैन। २०७१ मंसिर २ गते तत्कालीन गृहमन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश बस्नेतले संयुक्त रुपमा सेज उद्घाटन गरेका थिए। त्यसैगरी २०७३ फागुन ५ गते पुनः तत्कालीन उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरेका थिए। त्यस्तै २०७६ वैशाख अन्तिम साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले औपचारिक उद्घाटन गरेका थिए।

हाल सम्म सेजमा विद्युतीय सब–स्टेशन निर्माण गरिएको छैन भने माग अनुसारका उद्योगले उद्योग स्थापना भएको छैन। विद्युतको कारण देखाउँदै उद्योगीहरूले सेजमा उद्योग सञ्चालन गर्न मानिरहेका छैनन्। तर, सेज व्यवस्थापनले भने विद्युतकै कारण उद्योग स्थापनामा समस्या नरहेको बताएको छ। सब–स्टेशन नभए पनि उद्योगीलाई उद्योग सञ्चालनका लागि आवश्यक विद्युत प्राप्त हुने सेजले बताउँदै आएको छ।
सेजमा उद्योग सञ्चालनका लागि कम्तीमा १० मेघावाट विद्युत आवश्यक पर्ने सेज व्यवस्थापनले जनाएको छ। तर, अन्य कार्यालयहरू, ओभरलोड र बाँकी प्लटमा उद्योग सञ्चालनका लागि भन्दै २० मेघावाट विद्युत ल्याउने सेजको तयारी छ। ‘सबस्टेशन निर्माण नहुनु हाम्रो कमजोरी हो’ सेजका प्रवक्ता सुन्दर थापाले भने, ‘सेज पूर्ण रुपमा सञ्चालन नआउनुमा केही हाम्रो कमजोरी छ भने केही उद्योगीको पनि छ।’ उनले अब एक वर्षभित्र सेजमा विद्युतका लागि सब स्टेशन निर्माण भइसक्ने र पूर्ण रुपमा सञ्चालनमा आउने दाबी गरे।
रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघा क्षेत्रफलमा रहेको विशेष आर्थिक क्षेत्र सेजमा १४ सय देखि ३७ सय वर्ग मिटर सम्मका ६९ वटा प्लट छन्। सेज सञ्चालन व्यवस्थापन मापदण्ड तथा कार्यविधि अनुसार विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताउनु भयो। ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ।यस्ता उद्योगहरूलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ।
बेलहिया–बुटवल सडक
व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवलद्वारा निर्माणाधीन बेलहिया–बुटवल सडक आयोजना ८ वर्षअघि सुरु भएको थियो। २०६९ मा सुरु गरिएको सडक निर्माणको काम हालसम्म सम्पन्न हुन सकेको छैन। नेपाल–भारत सीमा नाका बेलहियादेखि बुटवल सम्मको साढे २७ किलोमिटर सिद्धार्थ राजमार्गअन्तर्गतको ६ लेन सडक निर्माणका लागि टुक्रे ठेक्काबाट निर्माण सुरु गरिएको हो। यो सडक अहिले पनि निर्माणाधी अवस्थामै छ। ठेकेदारहरूको चरम लापरवाहीका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको हो।
(1).JPG)
हाल सडकको दुवै तर्फको मुख्य सडकको काम (भैरहवाको अञ्चलपुर र बेलहिया बाहेक) सम्पन्न भएको छ। सहायक सडक(सर्भिस लेन), हरियाली, सडक बत्तिलगायत काम भने अझै पनि सकिएको छैन। साढे २७ किलोमिटर सडकमध्ये २० दशमलव २५ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने ७ दशमलव ५ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ। ८७ प्रतिशत काम सकिएको र बाँकी १३ प्रतिशत काम यही आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख जिवेन्द्र मिश्रले दाबी गरे।
उनले बेलहियामा अहिले सडक निर्माणले गति लिएको र सर्भिस लेनको काम पनि तीव्र गतिमा भईरहेकाले यसै आर्थिक वर्षभित्र सम्पन्न हुने उल्लेख गरे। बुटवलको राजमार्गदेखि गोलपार्क सम्मको सडक निर्माणको विषयमा अदालतमा मुद्दा दायर भएकाले आयोजना कहिले सम्पन्न हुने हो टुंगो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।