इलाम- इलामबाट महिनामा ६० क्विन्टल छुर्पी अमेरिका निर्यात हुँदै आएको छ।
इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी निकासी हुने गरेको छ । स्थानीय व्यापारी बाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्फ निकासी गर्दै आएका छन्।
छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्ने लगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक र पाँचथरका चिलिङ्देन, पञ्चमी, फाक्तेप लगायतका अधिकांश गाउँबाट छुर्पी संकलन गरेर अमेरिकातर्फ निर्यात हुँदै आएको जनाए।
स्थानीयस्तरमा प्रतिकिलो ७५० देखि रु नौ सय रुपैयाँसम्ममा छुर्पी खरिद गर्ने गरेको बताउँदै बाङ्देलले भने– 'राँके बजार र बिर्तामोडस्थित संकलनस्थलमा जम्मा भएका छुर्पी काठमाडौं पठाउने गरेको र त्यहाँबाट अर्को व्यापारीमार्फत यसलाई अमेरिका पठाउने गरेका छन्।'
यहाँबाट लगिएको छुर्पी ग्रेडिङ र प्याकेजिङ गरेपछि प्रतिकिलो एक हजार ३ सयदेखि एक हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । राँके बजारमा मासिक रु ८० लाख मूल्य बराबरका छुर्पी संकलन हुने गरेका छन्।
'अमेरिका निर्यात गरिएका छुर्पी त्यहाँका कुकुरलाई ख्वाइन्छ', बाङ्देलले भने। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।