बेझाड- पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपालको १ करोड ८० लाख र गाउँपालिकाको ४२ लाख १३ हजार ८ सय रुपैयाँको लागतमा हावाबाट बिजुली निकालिएको हो।
हावाबाट १५ किलोवाट र वायू तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए।
करीब साढे दुई वर्ष अघिदेखि सुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि स्थानीयबासी खुसी भएका छन्।
गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती उपयोग भएको छ।
विद्यालयका कामकाज गर्न विद्युत् सेवा पुगेपछि सजिलो भएको गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारी बताउँछन्। कृष्ण ग्रिल एण्ड इञ्जिनीयरिङ वर्क प्रालि विराटनगरमार्फत विद्युत् उत्पादन गरिएको हो। उनका अनुसार यस आयोजनाबाट सो ठाउँका करीब ८ सय जनसङ्ख्या लाभान्वित हुनेछन्।
बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ। मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पङ्खा घुमाएर विद्युत् सेवा दिइएको छ। यसअघि निस्दी गाउँपालिकाको एउटा वडामा हावाबाट निकालिएको बिजुली प्रयोगमा ल्याइएको थियो। थप सेवा विस्तार गर्न दोस्रोपटक बिजुली उत्पादन गरी स्थानीयवासीलाई सुविधा दिइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।