काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ। बैठक मंसिर २९ यता जारी थियो।
बैठकमा ५ वटा एजेन्डाहरु प्रस्तावित भएको र तिनका बारेमा गम्भीर छलफल गरेर निर्णय लिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
'अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बैठकमा उठेका सुझावहरुलाई समेत सम्बोधन गर्ने गरी राजनीतिक प्रतिवेदनलाई परिमार्जित गरी पेश गर्नुभयो', प्रवक्ता श्रेष्ठले भने, 'परिमार्जनपश्चात राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।'
त्यस्तै, महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनको सम्बन्धमा केही प्रावधान सम्बन्धमा प्राप्त भएका सुझावहरुलाई समेटेर फेरि त्यो प्रस्ताव तयार पारेर केन्द्रीय कमिटीमा लैजाने तय भएको छ।
बैठकले भारतद्वारा जारी नयाँ राजनीतिक नक्सालाई अस्वीकार गर्ने निर्णय गरेको छ। कूटनीतिक प्रयत्नद्वारा समस्या समाधानका लागि सरकारलाई अपिल गर्ने निर्णय पनि गरिएको छ।
केन्द्रीय कमिटीको बैठक पुस २३ गते काठमाडौंमा हुने भएको छ। स्थान भने पछि तय गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।