पाल्पा- पाल्पाको सिद्धबाबा थान नजिकै पहिरो खसेर ट्रक र कार पुरिँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पहिरोमा परेका हुन्।
मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली रहेको प्रहरीले जनाएको छ। राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन्। कारमा तीनजना र ट्रकमा एकजना सवार थिए ।
पहिरो खसेपछि अहिले बुटवलबाट पाल्पातर्फ सवारी चल्न सकेको छैन। सवारी नचल्दा दशैंमा घर जाने यात्रु बाटामै अलपत्र परेका छन्।
पाल्पाबाट दूध तथा तरकारी बोकेर जाने सवारीसाधन बाटामा रोकिएको स्थानीय बासिन्दा बताउँछन्। दोभान प्रहरी कार्यालयका प्रहरी हवल्दार तारा फौजाले एउटा डोजरले माटो र ढुंगा फालिए पनि पहिरो हटाउन समय लाग्ने बताए। माटो र ढुंगासहितको पहिरो खस्दा यस क्षेत्रमा बर्सेनि जोखिम बढेको स्थानीयवासीको गुनासो छ।
गएराति सडकमाथिबाट ठूलो पहिरो खसेपछि सडकमा गाडीको लाम लागेको छ। सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वत लगायतका सवारीसाधन बुटवल जान सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।