काठमाडौं– हाल अमेरिकामा रहेकी अभिनेत्री जल शाहले आफ्नो आमाको सम्झनामा दुई फिल्म प्राविधिकलाई सम्मान गरेकी छिन्। आमा साहित्यकार प्रेमा शाहको स्मृतीमा उनले पुराना फिल्म प्राविधिकद्धय उद्धवराज भट्टराई (जुँगे) र चन्द्रिका ठाकुरलाई सम्मान गरेकी हुन्।
सम्मान कार्यक्रममा भने उनी उपस्थित थिइन्। सम्मान कार्यक्रमको संयोजन चलचित्र प्राविधिक संघले गरेको थियो। सम्मानित हुने दुवै तीन दशकदेखि फिल्म क्षेत्रमा सम्मानित छन्। भट्टराई तीन दशकदेखि फिल्म क्षेत्रमा कला निर्देशकको रुपमा कार्यरत छन् भने ठाकुर प्रकाश व्यवस्थापन (लाइटम्यान)का रुपमा सक्रिय छन्।
.jpg)
शुक्रवार दिउँसो राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा दुवैलाई नगद एकाउन्न हजार सहित सम्मान गरिएको थियो। दुबै जनालाई नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, चलचित्र विकास बोर्डका पूवै अध्यक्ष राजकुमार राई, वर्तमान सदस्य दयाराम दाहाल, बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा लगायतको हातबाट सम्मान प्रदान गरिएको थियो।
‘जल शाहजीले प्राविधिकलाई पनि सम्मानको योग्य सम्झिनुभयो, धेरै खुशी छु,’ सम्मानित भएपछि भट्टराई भावुक सुनिए।
नेपाली फिल्मबाट टाढा भएपनि फिल्म प्राविधिकप्रति उस्तै प्रेम दर्शाएको भन्दै चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले अभिनेत्री शाहप्रति आभार प्रकट गरे। ‘फिल्मकर्मीहरुले यसरी पर्दा पछाडी रहेर काम गर्ने फिल्म प्राविधिकलाई पनि माया गरिदिँदा खुशी लाग्छ,’ कार्यक्रम समापन गर्ने क्रममा पुष्करले भने।
तस्बिर: योगप्रसाद विमली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।