दैलेख- दैलेख जिल्लाको नारायण नगरपालिका-१ मा रहेको अधिकारी भेराइटी एण्ड अर्डर सप्लार्यसमा विद्युत् चुहावट हुँदा आगलागी भएको छ। बुधबार राति २ बजे विद्युत्को तार सर्ट भएर आगलागी भएको हो।
नयाँबजारमा फेन्सी पसल गर्दै आएका ताराकिशोर शर्मा अधिकारीको पसलमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले राति २ बजे विद्युत् चुहिएर आगलागी भएको खबर स्थानीयवासीले प्रहरीलाई गरेपछि प्रहरीले ताला तोडेर पनि पसलमा लागेको आगो निभाउन नसकेका कारण सबै कपडा जलेर नष्ट भएको बताए। उनले नारायण नगरपालिकामा रहेको दमकल पनि बिग्रेको अवस्था भएका कारण आगो नियन्त्रण लिन समस्या भएको जानकारी दिए।
प्रहरीका अनुसार २५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ। एक वर्षअघि त्यही फेन्सी पसलको आडमा रहेको अनु फेन्सी पसलमा समेत आगलागी भएको थियो।
नारायण नगरपालिका ल्याएको दमकल बिग्रिएर थन्किएकाले आगो निभाउन स्थानीयबासीले आफ्नो घरमा भएको खानेपानी ल्याएरसमेत आगो निभाउन सम्भव नभएको स्थानीयबासी किशोर केसीले बताए।
उनले दैलेख बजारमा चार दिनदेखि लगातार खानेपानी अभाव भएका कारण धाराबाट बोकेको पानी ल्याएर स्थानीयले आगो निभाउन खोजे पनि सम्भव नभएको जानकारी दिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।