काठमाडौं– सुरक्षा पन्तले छनाेट गर्ने फिल्म र चरित्र हेर्दा लाग्छ, उनलाई ‘डार्लिङ एक्टर’ हुनु छैन, दर्शकले हेर्दा पर्दाभित्र आफ्नो रुपरङ मिलेको हुनुपर्छ भन्ने पनि छैन।
चरित्रलाई आत्मसात गर्ने क्रममा कहिले निधार खुम्चाउनुपर्ला, कहिले अनुहारै नराम्रो देखिने गरी चिच्याउनुपर्ला, कहिले मुख बङ्ग्याउनुपर्ला तर उनलाई त्यसमा परवाह छैन। फिल्ममा राम्री देखिनलाई सधैँ मुस्कानकै प्रदर्शन गर्ने रहर पनि उनलाई छैन।
स्वर्गीय निर्देशक आलोक नेम्बाङको ‘अझै पनि’ बाट सुरु भएको उनको अभिनय यात्रा दीपेन्द्र के. खनालको ‘आमा’सम्म आइपुग्दा झन् परिपक्व हुँदै गइरहेको छ। इन्जिनियर पढेर कलाकारितामा आइपुगेकी उनी फिल्म र अभिनयलाई लिएर निकै गम्भीर छिन्।
एउटा कलाकार आफ्नो पात्रप्रति कतिसम्म समर्पित हुन सक्छ, फिल्म ‘आमा’का लागि उनले गरेको त्याग हेरे पुग्छ। उनले यो फिल्मका लागि आफूले सानैदेखि माया गरेर हुर्काएको कपाल खौरिइन्।
‘अभिनयका क्रममा एउटा कलाकार सधैँ चरम आनन्दको खोजीमा हुने रहेछ,’ सुरक्षा भन्छिन्, ‘तर, सबै फिल्ममा त्यो पाइन्न। यो फिल्ममा भने मैले धेरैपल्ट त्यो आनन्द पाएँ।’
योबीचमा उनले थुप्रै सिनेमाहरुमा काम गरिन्। तर, यही सिनेमामा काम गरिसकेपछि उनी स्पष्ट भइन्, ‘एउटा व्यक्ति आफूलाई बिर्सिएर पुर्णतः पात्र पनि बन्न सक्दो रहेछ।’
‘यो फिल्म गर्दा कतिपय ठाउँमा मैले आफूलाई सुरक्षा पन्त हो भन्ने नै बिर्सिसकेको थिएँ,’ बुधबार राजधानीमा आयोजित यो फिल्मको ट्रेलर लन्चमा उनले भनिन्, ‘म त आफूलाई फिल्मकै पात्र सोच्न थालिसकेको थिएँ। कसैले चिच्याएर बोल्दा पनि झनक्क हुने, आँखाबाट आँशु आइहाल्ने हुन्थ्यो। अहिले पनि सिनेमा हेर्दा ति पलहरु सम्झिँदा मलाई गाह्रो हुन्छ।’
कपाल मुन्डन गरेपछि अहिले उनको कपाल निकै छोटो छ। त्यो छोटो कपाल बोकेर उनी फिल्मको प्रचारात्मक कार्यक्रम हिडिरहेकी छिन्।

सायद कपाल मुन्डन गर्दाखेरीको त्यो पलसँग उनको गहिरो प्रेम छ, त्यसैले भनिरहन्छिन्, ‘कपाल खौरिने दृश्य यो सिनेमाको सबैभन्दा महत्वपूर्ण दृश्य हो।’
सुरक्षाका अनुसार त्यो दृश्य खिच्दा उनलाई निकै गाह्रो भएको थियो। कपाल खौरिरहेका बेला जतिसक्दो चाँडो कपाल काटिदिए हुन्थ्यो भन्ने लाग्थ्यो। यो दृश्यको सुटिङ सिन्धुलीको एउटा गाउँमा भइरहेको थियो।
कपाल खौरिने ब्लेडको धार नै कमजोर परेछ। त्यसैले निकै गाह्रो भएको थियो कपाल खौरिन। ‘अब म भक्कानिने हो कि भन्ने भइसकेको थियो। फेरि यस्तो ठाउँमा सुटिङ भइरहेको थियो कि ब्लेड पनि पाउन मुस्किल,’ उनी सुनाइरहेकी थिइन्।
फिल्मको सुटिङ हेर्न स्थानीयको भीड थियो। सायद सुरक्षाको मनोभाव बुझेर होला, कपाल खौरिरहेको स्थानमा एकजना स्थानीय बा’ पुगेछन्। भनेछन्, ‘म काटिदिन्छु, मैले काट्ने गरेको छु।’
सुरुमा त सुरक्षालाई विश्वास भएन। तर जब उनले कपाल काट्न थाले त्यसपछि उनी भावुक भइन्। ‘उहाँले यति माया गरेर काटिदिनुभयो कि, उहाँको हातबाट पास भएको इनर्जीले गर्दा मेरो आँखा रसायो। यति मायाले काटिदिनुभयो कि केही नभएकोजसरी...,’प्रेसमिटमा त्यो क्षण सम्झँदासम्झँदै सुरक्षाको बोली अड्कियो, आँखाबाट आँसु झर्यो।
‘यस्तोसम्म पनि गर्नुपर्दो रहेछ है नानी,’ ती बा’ले भनेको यो वाक्य उनको मस्तिष्कले अझै बिर्सिएको छैन।
कपाल खौरिएको क्षण सम्झिएपछि सुरक्षा धेरै बोल्न सकिनन्। ‘धन्यवाद यो अवसरका लागि। अहिले मलाई कलाकारिताको चरम केन्द्रमा पुगिरहेको छु भन्ने महसुस भइरहेको छ। यो फिल्ममा जति पनि इमोसन्सहरु देख्नुहुन्छ, त्योचाँहि रियल हो, कृत्रिम होइन,’ यति भनेर उनले आफ्नो मन्तब्य टुँग्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।