काठमाडौं-तालिमका लागि अमेरिका गएका सशस्त्र प्रहरी बलका एक सई बेपत्ता भएको झण्डै १० वर्षपछि पक्राउ परेका छन्।
अमेरिका गएपछि उतै लुकेका सई उमेश सिलवाललाई सशस्त्र प्रहरी बलले लगनखेलबाट पक्राउ गरेको हो।
उनी भगौडा भएको भन्दै सशस्त्र प्रहरी विशेष अदालतबाट गत भदौ ३१ गते तीन वर्ष कैदको फैसला सुनाएको थियो। त्यसपछि लुक्दै आएका उनलाई सशस्त्रले पक्राउ गरेको थियो।
उनलाई आइतबार महान्यायाधिवक्ताको कार्यालयमा लगेर कानूनी प्रक्रिया पूरा गरी डिल्लीबजार कारागार चलान गराइएको सशस्त्रले जनाएको छ।
ललितपुरको गोदावरी नगरपालिका-३ घर भएका सिलवाल अमेरिकामा सञ्चालन भएको भिआइपी प्रोटेक्शन ट्रेनिङमा गएका थिए। उक्त तालिम २०६७ फागुन ३० देखि चैत १८ गतेसम्म सञ्चालन भएको थियो।
उक्त तालिम समापन भएको पर्सी पल्ट नेपाल फर्किने क्रममा अमेरिकास्थित एयरपोर्टबाटै कसैलाई जानकारी नगराई उनी भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।