काठमाडौं– फिल्मकर्मीविच फिल्म रिलिज गर्ने मितीका लागि प्रतिष्पर्धा हुनु कुनै नौलो कुरा होइन। तर, हिजोआज रिलिज मितीका लागि मात्रै होइन, नेपाली फिल्मवृत्तमा फिल्मका प्रचारात्मक सामग्री सार्वजनिक गर्ने मामिलामा पनि प्रतिष्पर्धा हुन थालेको छ।
उदाहरण आजकै छ, रामबाबु गुरुङको निर्देशनमा धुमुर्स–सुन्तलीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ र दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘आमा’।
रामबाबु र दीपेन्द्र दुवै नेपाली फिल्मका महंगा निर्देशक हुन्। त्यसैले दुवैको फिल्मलाई लिएर फिल्मवृत्तमा चासो छ।
तर, चासोका रुपमा लिइएका यि दुवैले फिल्म एकै मितीमा रिलिज गर्ने घोषणा गरेका छन्– फागुन ९। फिल्म त एकै मितीमा रिलिज हुने भइसकेकै थियो, हुँदाहुँदा यो फिल्मको प्रचारात्मक सामग्री पनि एकै मितीमा सार्वजनिक भयो अर्थात् आज (बिहिबार)।
अभिनेत्रीद्धय मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको फिल्म ‘आमा’को काठमाडौंस्थित क्युज सिनेमा हलमा दिउँसोको १२ बजे पत्रकार सम्मेलनमार्फत आजै ट्रेलर सार्वजनिक भयो भने उता ‘सेन्टी भाइरस’ टीमले कमलपोखरीको बिग मुभिज हलमा आजै फिल्मको पहिलो गीत ‘फन्नी फन्नी’ सार्वजनिक ग-यो। ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ।
दुवै फिल्मका प्रचारात्मक सामग्री आजै सार्वजनिक भएपछि अब कसको सामग्री युट्युबमा बढी हेरिन्छ या ट्रेन्डिङमा कसको अगाडी आउँछ? यसबारे प्रतिष्पर्धा हेर्न या सुन्न त बाँकी नै छ।
यसरी हलमा त फिल्म जुधिरहेकै थियो। हुँदाहुँदा अब कार्यक्रम नै एकै दिन जुधाउन थालेपछि यसले दिनहुँ घाँटामा गइरहेको नेपाली फिल्म क्षेत्रलाई फाइदा पु-याउँला त? बहस आवश्यक छ।
‘दुवैले ज्योतिषलाई देखाएर एकैदिन कार्यक्रम राखेको हुनुपर्छ। सुनेको थिएँ, १२ बजेपछि आज साइत राम्रो थियो रे,’ ‘आमा’को प्रेस मिटमा एक पत्रकार गाईंगुईं गरिरहेका थिए।
हेर्नुस् ‘सेन्टी भाइरस’को गीत:
हेर्नुस् ‘आमा’को ट्रेलर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।