मकवानपुर- मकवानपुर प्रहरीले अपहरणमा परेका एक जनालाई आठ घण्टामा उद्धार गरेको छ।
मकवानपुर प्रहरीले बुधबार बिहान बन्धक बनाइराखेको अवस्थामा हेटौँडा-९ बाट रामेछाप दोरम्बा-५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई उद्धार गरेको हो।
प्रहरीका अनुसार हेटौँडा-४ स्थित फरेष्ट्री गेटअगाडि अम्लेखगञ्जबाट काठमाडौं जाँदै गरेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा सवार नरेश थापा मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका तीन जनाको समूहले कुटपिट गरी घरेलु हतियार देखाएर अपहरण गरी हेटौँडा-९ लाम्सुरेस्थित एक घरमा बन्धक बनाइराखेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी अपहरणमा सङ्लग्न पाँच जनालाई सार्वजनिक गर्दै यस बारेमा जानकारी गराएको हो।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको जानकारी पाएलगत्तै मकवानपुरबाट खटिएको प्रहरीले अपरहणमा संलग्न भएको आरोपमा चारसहित एकजना बन्धक बनाइराख्ने घरधनीसमेत पाँचजनालाई हेटौँडा-९ लाम्सुरेबाट पक्राउ गरेको बताए।
प्रहरीले अपहरणमा संलग्न कैलाली धनगढी घर भई काठमाडौँ-३ पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापति, कञ्चनपुर श्रीपुर-६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाउँपालिका-६ बस्ने कृष्ण गुरुङ, सोही गाउँपालिका-४ घर भई बा २ ज ५३५६ नम्बरका ट्याक्सी चालक आशिक लामालाई मगरलाई अपहरण गरी बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ।
बन्धक बनाइराखेको अवस्थामा घरधनी हेटौँडा-९ लामसुरेका ३६ वर्षीया सरस्वती तामाङलाई घटना भएको आठ घण्टापछि पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।