काठमाडौ- छाउपडी राख्ने र स्वेच्छिक रुपमा बस्नेलाई पक्राउ गर्न कुनै जाहेरी नकुर्न महान्यायाधीवक्ता अग्नी खरेलले निर्देशन दिएका छन्।
मुलुकी फौजदारी संहिताअन्तर्गत पहिलोपटक अपराधको रुपमा स्वीकार गरिएको यो प्रथा अन्त्यका लागि प्रदेश, जिल्ला र स्थानीय निकायलाई समेत काम गर्न उनले आग्रह गरे। हालैमात्र एक महिलाले अछाममा ज्यान गुमाउनु परेपछि महान्यायाधीवक्ता कार्यालय र नेपाल प्रहरीको समन्वय समितिको बैठक बसेको थियो।
उक्त समितिको बैठकले पनि छाउघरमा बस्न बाध्य पार्नेलाई कानुनी कारबाही कडाइका साथ पालना गराउने निर्णय गरेको थियो।
अहिलेको अवस्थामा पनि महिलाले छाउ घरमा बस्नुपर्ने वातावरण निर्माण हुनु आफैंमा दुःखद भएको भन्दै महान्यायाधीवक्ता खरेलले यसको अन्त्य गर्न सामाजिक सचेतनासँगै फौजदारी दायित्व समेत बुझाउनु परेको बताए।
महान्यायाधीवक्ता खरेलले कसैलाई थुनामा राख्दैमा न्याय प्रणाली सुदृढ नहुने कुरामा आफू रहेको बताए। ‘कसैलाई अनावश्यक ढंगमा पक्राउ गरी थुनामा राख्दैमा न्याय पद्धती विकास हुदैन भन्ने कुरामा म पनि विश्वास गर्दछु‚’ खरेलले भने‚ ‘तर थुनामा नपरी नटर्ने हाम्रो संस्कारका कारण समस्या भइरहेको छ।’
सरकारी वकिल र प्रहरीको राष्ट्रिय सम्मेलनको तयारी पुरा
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन पुष ४,५ र ६ गते काठमाडौंमा हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी गराइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
सम्मेलनमा ६ सय २५ जनाको सहभागीता हुनेछ। प्रहरी अधिकृत ३ सय २०‚ सरकारी वकिल २ सय ७० र पर्यवेक्षक ३५ जनाको सहभागीता हुनेछ। सम्मेलनमा विभिन्न १४ विषयका कार्यपत्र पेश गरिनेछ। काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन ६ गते समाप्त हुने कार्यक्रम रहेको छ।
सम्मेलनले फौजदारी अपराध संहिताको कार्यान्वयनमा देखिएका चुनौतीहरुलाई समाधान गर्ने बाटो खोज्नेछ। मुद्दाको अनुसन्धानका लागि पनि सरकारी वकिल र प्रहरीबीचको सहकार्यलाई पनि नयाँ उचाइमा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।