३/३ महिनामा बस्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक वर्षपछि बसेको छ। बैठकमा विविध विषयमा छलफल भइरहेको छ। लिखित र मौखिक सुझाव प्रस्तुत भइरहेका छन्। एक वर्षपछि बसेको बैठकमा नेताहरुले आफ्नो चासो व्यक्त गरिरहेका छन्। अध्यक्षद्वयको तर्फबाट प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनका विविध पाटामाथि टिप्पणी पनि भइरहेका छन्।
स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सचिवालयलाई १५ सदस्यीय बनाउन, महिला सदस्य थप्न तथा तल्ला कमिटीसम्म उपाध्यक्ष राख्न लिखित माग गरेका छन्। अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला राख्नुपर्ने पनि उनीहरुको जोड छ।
स्थायी कमिटी बैठकको सेरोफेरोमा रहेका नेपाल लाइभका लागि पुष्पा केसीले अष्टलक्ष्मी शाक्यसँग गरेको कुराकानीः
कम्युनिस्ट पार्टीमा झन् बढी छलफल हुनुपर्ने, बढीभन्दा बढी बैठक बस्नुपर्ने हो। तर स्थायी समिति बैठक बस्न नै एक वर्ष लाग्यो। किन?
नेकपाको विधानअनुसार तीन–तीन महिनामा स्थायी कमिटी बैठक बस्नुपर्छ। वर्षको कम्तीमा दुई पटक केन्द्रीय कमिटी बैठक बस्नुपर्छ। तर हाम्रो सचिवालय नेतृत्वले त्यो विधानलाई पालना गरेन। तीन महिनामा बस्नुपर्ने बैठक बल्ल एक वर्षपछि बस्यो। यो विषय मैले बैठकमा पनि उठाएँ। अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा यसबारे आत्मालोचना त गर्नुभएको छ। अबदेखि यस्ता कमजोरी नदोहोर्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ। तर, मैले यो क्षम्य हुँदैन भनेर प्रष्ट राखेकी छु। किनभने स्थायी कमिटी भनेको दोस्रो तहको नेता हो नि त। सचिवालय कमिटी नै होइन भनिरहेका छौं।
स्थायी समितिलाई बाइपास गर्दै सचिवालय बसेर आफू अनुकूल हुनेगरी जे–जस्तो पनि निर्णय गर्ने गरिएको छ। यो खालको काम कम्युनिस्ट पार्टीमा बिल्कुल हुन सक्दैन। र, कम्यनिस्ट पार्टीको सिद्धान्त, विधि र भावनाविपरीत छ भनेर बैठकमा बोल्ने सबैले उठाउनुभएको छ। मैले पनि अलि जोडदार रुपमा उठाएँ।
लामो समयपछि यति ठूलो नेपाल कम्यनिस्ट पार्टी बनेको छ। दुई फरक धारबाट आएका पार्टी मिलेर शक्तिशाली बनेको छ। यस्तो बेलामा पनि बैठक नै नबसी पार्टी चलाउनु भनेको त सोचमै परिवर्तन नआएको बुझिन्छ। नेतृत्व सामन्ती चिन्तन र सोचबाट ग्रसित छ भन्ने यसले देखाउँछ।
यति लामो समयसम्म बैठक नबस्दा कस्तो खालको द्विविधा उत्पन्न हुँदोरहेछ ? पक्कै पनि यहाँले त्यो अनुभूति गर्नुभयो होला?
पहिले तत्कालीन नेकपा एमालेमा बैठक नियमित पनि हुन्थ्यो। बैठक ढिला भए पनि हामी कराउँथ्यौं। बैठक राख्नुपर्दछ भन्थ्यौं। अलि धेरै बहस छलफल गर्ने चलन पनि थियो। सधैं चित्त बुझ्छ भन्ने हुँदैन। कहिलेकाहीँ चित्त दुख्न पनि सक्छ। तर, राजनीतिक र सैद्धान्तिक बहस कहाँ गर्ने? पार्टीलाई ठीक ढंगले अगाडि बढाउने कुरा कहाँ छलफल गर्ने? त्यो त कमिटीभित्रै हो नि।
अहिलेको अवस्था सिर्जना हुनुमा पार्टी एकीकरणकै कारण त भन्दिनँ। तर, नेतृत्व तहमै स्थायी कमिटी नै महत्त्वपूर्ण हो र उसले गरेका निर्णय नै महत्वपूर्ण हुन्छन्। त्यसपछि केन्द्रीय कमिटी नै हाम्रो आधिकारिक कमिटी हो भन्ने सोचमै विकास भएन। सबै कुरा सचिवालय जस्तो भयो।
मेरो त प्रदेश ३ मा नेकपा इन्चार्जको जिम्मेवारी पनि छ। जिम्मेवारी भएपछि त धेरै जटिलता, अन्योलता, विवादबाट हामी त गुज्रिनैपर्थ्यो। नेताहरुसँग भेट्नै नसकिने। पार्टीमा प्रष्ट रुपमा छलफल गर्न नपाउने भएपछि काम गर्न धेरै अप्ठ्यारो पनि भयो। असजिलो पनि भयो। यसले उकुसमुकुससँगै पीडा पनि भयो।
जे भए पनि अहिले बैठक बसेको छ। खुसी छु। लागेका कुरा बैठकमा एक ढंगले राखिसक्यौं। बैठकमा कुनै लुकिछिपी छैन। सबैले खुलस्त आफ्ना कुरा राख्छौं।
एक वर्षको बीचमा नेतृत्वसामु राख्नैपर्ने धेरै विषय पनि थिए होलान् नि? त्यो नियमित रुपमा राख्न नसक्दा पार्टी सञ्चालन पद्धति र नेताहरुको उत्साहमा कस्तो असर पर्दोरहेछ?
यो बीचमा हामीले त भोग्यौं नै। बाहिर बसेर तपाईंहरुले पनि देख्नुभयो। पार्टी एकता हुँदा जुन उत्साह र सक्रियता थियो। त्यस अनुसारको माहोल सिर्जना हुनुपर्थ्यो, त्यो भएन। पार्टी देशभर नयाँ अभियान र ऊर्जाका साथ जान्छ। सरकारले नयाँ गति लिन्छ भन्ने सबैलाई लागेकै थियो। तर, सोचअनुसार काम नहुँदा हामी खुम्चिनुपर्यो।
पार्टी एकीकरणले तलसम्मै गति लिन पनि अत्यन्तै ढिला गर्यो। अर्को, राजनीतिक बहस, छलफलको पाटो शून्य नै भयो। विधि र संस्थागत निर्णयमा कमजोर भयो।
कम्युनिस्ट पार्टीमा व्यक्तिगत जिम्मेवारी, सामूहिक नेतृत्व भन्ने हुन्छ, त्यो व्यवस्था नै कमजोर भयो।
पहिले स्कुल विभाग चलाउँथ्यौं। सिद्धान्त, विचार नीति कार्यक्रमबारे छलफल हुन्थ्यो। त्यही ढंगले प्रशिक्षण हुन्थ्यो। माक्र्सवाद, लेलिनवाद हाम्रो सिद्धान्त भनिरहेको बेलामा समाजवादमार्फत् वैज्ञानिक साम्यवादमा जानुपर्छ र औद्योगित पूँजी निर्माण गर्दै स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्छ भनिरहेको बेला यसको सैद्धान्तिक, राजनीतिक बहस कहाँ गर्ने? यो शून्य भयो। यो बीचमा धेरै अन्योलता र निराशता उत्पन्न भयो। शिथिलता उत्पन्न भयो। प्रदेश ३ सम्पूर्ण रुपले तल्लो तहसम्मै अगाडि बढिसक्यो। यसले ऊर्जा थपिएको छ। जिम्मेवारी थपिएकोप्रति खुसी पनि छ।
शिथिलता देखिएको समयमा सरकार सञ्चालनका सबैजसो निर्णयमा सचिवालय नै हाबी देखिएको छ। स्थायी समितिदेखि केन्द्रीय कमिटीको बैठक बिना गरिएका निर्णयको अपनत्व ग्रहण गर्न पनि गाह्रो हुन्छ होला नि?
गाह्रो हुने त भइहाल्यो नि। दुई तिहाइको सरकार केन्द्रदेखि स्थानीय तहसम्म भएका बेला छलफल नहुँदा समस्या त देखियो नै। सरकारलाई नै कसरी अगाडि बढाउने भन्नेमा पनि त सुझाव हुन्छ नि। अर्को सरकारको कमी कमजोरी पनि देखियो।
सरकारले ठूला–ठूला योजना सोचेको देखियो। तर, जनतालाई दैनिक जीवनमा दुःख भयो। धेरै असर परेको छ। महंगी, बाटोघाटो, सेवा सुविधालगायत जनताको दैनिकीमा समस्या छ। थोरै पनि राहत मिल्ने गरी जनतालाई प्रत्यक्ष प्रभाव पार्नुपर्नेमा सरकारको ध्यान त्यतातिर पुगेन भनेर हामीले प्रष्ट कुरा राखेका छौं।
स्थायी समिति बैठकमा नेताहरुको चासो के कस्तो पाउनुभयो?
अहिले त सबैमा उत्साह बढेको छ। बैठक सुरु हुनु अघिसम्म दिक्दारलाग्दो स्थिति थियो। स्थायी कमिटीका नेता जिम्मेवारविहीन छ। विचार शून्य जस्तो भएको छ। पार्टी र सरकार आफ्नै पारामा अगाडि बढेको छ। हामीले बाहिर बसेर टुलुटुलु हेर्नुपरेको छ। त्यसकारण सबैलाई एक किसिमले दिक्दार लागेको थियो। तर, स्थायी समिति बैठक सुरु भएपछि सबैलाई जाँगर चलेको छ। उत्साह बढेको छ। अब ट्रयाकमा आउँछ र ल्याउनुपर्छ भन्ने लागेको छ।
हामीले सचिवालय ९ जनाको हुन सक्दैन भनेका छौं। सचिवालय महिलाविहीन पनि हुन सक्दैन। त्यसैले महिलासहितको १५ सदस्यीय सचिवालय हुनुपर्ने हामीले प्रस्ताव राखेका छौं।
पार्टी एकीकरण भएको १९ महिनामाथि त्यसको आवश्यकता किन पर्यो? महिला सदस्य थप्दैमा के फरक पर्छ? स्थायी समिति र केन्द्रीय कमिटिमा पनि महिला सदस्य पर्याप्त छैनन्। त्यहाँ के गर्ने?
त्यहाँ पनि पुगेको छैन। माओवादी सशस्त्र युद्धबाट आयो। त्यसमा धेरै महिलाहरुले ज्यान गुमाए। धेरै महिलाले घर परिवार छाडेर महिलाको नेतृत्व लिएका छन्। एमालेमै पनि धेरै महिलाको बलिदान छ। भूमिगत भएर महिलाहरुले काम गरे। सम्पूर्ण त्यागेर हिजोको अवस्थामा नेतृत्व पनि लिए। यतिबेला सहज अवस्थामा आइसकेपछि महिला कमजोर छन्, सक्दैनन्, सक्षम छैनन् भन्ने कुरा सामन्तवादी चिन्तन र सोच हो। नेतृत्वमा यो चिन्तन अझ धेरै हाबी भयो।
महिला आरक्षण आइएनजिओ/एनजिओले उठाउने विषय हुन् भन्ने अभिव्यक्ति नेतृत्व तहबाटै आएपछि यहाँहरुलाई पनि गाह्रो होला नि?
आइएनजिओ÷एनजिओले उठाएको भन्दा पनि यो त पार्टीकै विषय थियो। महिलालाई अगाडि बढाउनुपर्छ। एक तिहाइ महिला सबै ठाउँमा पुर्याउनुपर्छ भन्ने पार्टी बोकेको हुनाले नै संविधानमा उल्लेख भयो। तर संविधान र विधानमा उल्लेख भए पनि पार्टीले आत्मसाथ गर्न सकेन। त्यसैले महिलाविहीन भएर अब देश चल्दैन।
महिलाको महत्त्वपूर्ण भूमिका, योजना, सुझावविना देश चल्दैन। पुरुषले मात्र देश चलाउने कुरा हिजोको दिनमा थियो होला। भयो। अब भने महिला–पुरुष समान छन् भन्ने धारणाका साथ सँगसँगै हिँड्नु पर्दछ। सँगसँगै देश निर्माण गर्नुपर्छ।
पुरुषले जसरी महत्वपूर्ण भूमिका खेल्नसक्छ, त्यही क्षमता र योग्यताका साथ महिलाले पनि भूमिका निर्वाह गर्न सक्छन्।
यो बैठकले नेकपालाई रिचार्ज गर्ने सम्भावना देख्नुहुन्छ? थितिमा लैजाने सम्भावना कतिको देख्नुहुन्छ? कि, करायो करायो, दक्षिणा हरायो भनेजस्तै हुन्छ?
दक्षिणा हराएको जस्तो त अब हुनै सक्दैन। हामी त्यत्तिकै कराइरहेका छैनौं। त्यत्तिकै आफ्ना विचार राखेका छैनौं। स्थायी समिति सदस्यमा रहेकाको अनुहार हेर्ने हो भने सबै लामो समय संघर्ष गरेर आएका छौं। स्थायी समितिको बैठकले मिचिएको विधिमा पार्टीलाई लैजान सहयोग पुग्छ।
अध्यक्षद्वयको प्रतिवेदन बैठकमा आएको छ। त्यसमा धेरै योजना र प्रस्ताव आएका छन्। त्यसले विधिमा हिँडाउन सहयोग पुग्छ। नेतृत्वले कमीकमजोरी महसुस गरेको छ। यसरी पार्टी पनि नचल्ने रहेछ र हामीले छुट पनि पाउने रहेनछौं भन्ने नेतृत्वलाई लागेको छ। मलाई यो बैठकले सकारात्मक भूमिका खेल्ने लागेको छ।
अध्यक्षद्वयको प्रतिवेदनमै पार्टीमा गुट संस्कृति मौलाएकोमा चिन्ता व्यक्त गरिएको छ। तपाईं नै गुटबाट पीडित हुनुभएको, गुटकै कारण प्रदेश ३ को मुख्यमन्त्री नबनाइएको भनेर धेरैले भन्ने गर्छन्। प्रतिवेदनको त्यो चिन्तामाथि तपाईंको विश्लेषण केही छ?
प्रतिवेदनले पार्टीमा गुट छ, त्यसलाई अन्त्य गर्नु पर्दछ। जे छ त्यो स्थितिलाई प्रतिवेदनले समेटेको छ। गुटले पार्टीलाई सम्पूर्ण रुपमा बिगार्ने काम गरेको छ भन्ने प्रष्ट धारणा प्रतिवेदनमा उल्लेख छ।
गुटकै कारण योगदान, निष्ठा र त्यागको कदर भएन। पुराना नेताले अपमानित महसुस गरिरहेका छन्। गुट भएपछि क्षमता, योगदान, त्याग नभएका व्यक्तिलाई पनि टपक्क टिप्यो, बोक्यो। ठाउँमा लगिहाल्यो। यसले नेकपा बलियो हुन सक्दैन। त्यसैले त पुष्पलालले पार्टीमा गुट अन्त्य हुनुपर्छ भन्नुभयो। पार्टी विचार र सिद्धान्तबाट चल्नुपर्दछ भन्नुको कारण पनि त्यही हो। हाम्रो पार्टीमा लामो समय गुट उपगुट रह्यो। यसले ठूलो नोक्सान भयो। निष्ठापूर्वक त्याग गरेर लागेको ठूलो इमान्दार पंक्ति ओझेलमा पर्यो। र, उहाँहरुको मन पनि भाँचिएको छ। गुटका कारण पार्टी छ भनेर उहाँहरुलाई अनुभूति पनि दिलाउन सकेन।
गुट अन्त्यका लागि पार्टीभित्रको पंक्तिलाई विचारबाट प्रशिक्षित गर्नुपर्यो। विधि र विचारबाट पार्टी चल्नुपर्यो।
हिजोका एमालेका कतिपय शीर्ष नेताहरु अहिले गुट नमिलेकै कारण किनारामा धकेलिएको देखिन्छ। अनि डाडु पन्यु सबै बोकेका अध्यक्षद्वयले नै गुट संस्कृति मौलाएको भन्दै चिन्ता व्यक्त गर्नु गोहीको आँसु हो जस्तो लाग्दैन? चिन्ता स्वभाविक हो भने उहाँहरुको भूमिका कस्तो हुनुपर्ला?
मलाईं कस्तो राम्रो लागेको छ। अध्यक्षद्वयले गुट छ, अब गटबन्दी गर्नु हुँदैन भनेर महसुस गर्नु भनेको पार्टी अब गुटमुक्त हुन थाल्यो भन्ने मैले महसुस गरेकी छु। जुन नेतृत्वबाट गुट भइरहेको छ, त्यही नेतृत्वले गुट गर्न हुँदैन। गुट भएर बिग्रियो भन्ने महसुस गरेको छ भने त्यो राम्रो हो।
हामीले भन्दा त्यसलाई कमीकमजोरीप्रतिको आत्मालोचना भन्छौं। तर, त्यसलाई सच्याएन भने गोहीको आँसु हुन सक्छ। सच्याउनै पर्छ। सबैलाई न्याय दिनुपर्छ। कम्युनिस्ट पार्टी भनेको सबैले न्याय खोज्ने ठाउँ पनि हो। सबैलाई न्याय दिने ठाउँ पनि हो। यहीँ न्याय भएन भने हामीले समाजमा कसरी न्याय सिर्जना गर्न सक्छौं। सबै जनतालाई कसरी न्याय दिन सक्छौं। आफ्नै पार्टीभित्र अन्याय गर्ने अरुलाई न्याय दिन सक्छ? सक्दैन। गुटले अन्याय गर्छ। गुटले अनुशासनहीन काम गर्छ। गुटले अराजकता सिर्जना गर्छ। गुटले राम्रो मान्छेलाई ओझेलमा पारेर सिध्याउँछ। त्यसले समाजमा बिग्रह ल्याउँछ। पार्टी गुटले आक्रान्त भयो भने त्यसले नेतृत्व गर्न पनि सक्दैन। समाजलाई नै अस्तव्यस्त बनाइदिन्छ। अराजकता सिर्जना गर्छ।
सरकार सञ्चालनमा भएका कमजोरीका विषयमा पनि प्रतिवेदनमा धेरै विषय उल्लेख छन्। तपाईंहरुले पनि बैठकमा बोल्दै गर्दा ती विषय उठाउनुभयो होला। सरकारको क्षमता जति छ, अनुकूल वातावरण जति छ, सोही अनुसार किन काम भइरहेको छैन भन्ने लाग्छ?
सरकारको नेतृत्वमा इच्छाशक्ति भएकै व्यक्ति हुनुहुन्छ भन्ने मैले विश्लेषण गरेकी छु। नेतृत्वलाई पनि जनता, पार्टी र सबैले विश्वास गरेर देशको समृद्धि र विकासका लागि त्यहाँ पठाएका छन्। तर, सबैले साथ दिइरहेको वातावरणमा उहाँले सबैको साथ चाहनुभएन। विज्ञहरुलाई नजिक राख्न सक्नुभएन। पार्टीमै रहेका अनुभवी साथीहरुलाई नजिक राख्न सक्नुभएन।
उहाँ आफैं पनि गुटबन्दीमै केन्द्रित हुनुभयो। सीमित नेता र स्वार्थमा केन्द्रित हुनुभयो। त्यसैले उहाँले राम्रो काम गर्न सक्नुभएन। कमीकमजोरी देखियो। यसले पार्टीलाई पनि नोक्सान पुर्यायो।
मन्त्रिमण्डलकै कुरा गर्दा पनि मन्त्रीहरुको क्षमता फरक होला। मन्त्रीहरुलाई यसरी काम गर भनेर निर्देशन र सुझाव दिनुपर्ने हो, त्यो पनि देखिएन।
भर्खरै मन्त्रिमण्डल हेरफेर पनि भयो। त्यतिबेला मन्त्रिमण्डल हेरफेरको विषय उठाउन पाउनुभएन। अहिले स्थायी समिति बैठकमा उठाउनुभयो?
हामी मन्त्री नभए पनि मन्त्रीलाई गरेको व्यवहारबाट म सन्तुष्ट भइनँ। किनभने अयोग्य भयो, असक्षम भयो भनेर केहीलाई निकालेर केहीलाई थपिरहँदा मूल्यांकनको आधार के? मापदण्ड के? गोकर्ण विष्टलाई पनि असक्षम, अयोग्य भनेर निकाल्नुपर्यो। केही त आधार हुनुपर्थ्यो नि। कार्यसम्पादनमा घुस खान हुँदैन। जनताको सेवा गर भनेको छ। त्यसमा टेक्यो भनेर अयोग्य हुन्छ ररु प्रधानमन्त्रीलाई भेट्नै नपाएको कुरा पनि आयो। यसरी चल्ने होइन सरकार।
सरकारले त आफ्नो टिमलाई कुशलतापूर्वक पार्टीको निर्देशनअनुरुप सबैको क्षमतालाई एक ठाउँमा राखेर जनतालाई राहत दिने विषयमा सोच्नुपर्थ्यो। त्यो अभाव देखियो।
पहिले नै महिला मन्त्रीको संख्या एकदम न्यून थियो, त्यसमा पनि झन न्यून बनाइयो नि?
हिजो महिलाले गरेको त्याग र योगदानलाई बिर्सिन थालिएको छ। महिलालाई स्थान चाहियो। जिम्मेवारी चाहियो भनेर यो कराउने बेला हो र? हिजोको अवस्थामा हो। महिलाको पनि त्याग र योगदानबाट अहिलेको खुल्ला समाजमा आइपुगेका हौं। संविधानले पनि एक तिहाइ महिला भनिसकेको छ। हामीजस्तो अरु थुप्रै महिलाहरु हुनुहुन्छ। योगदान र त्यागमा त पुरुषसरह नै छन्। हाम्रो योगदान पनि कम त छैन नि। त्यही रुपमा उहाँहरुले जिम्मेवारी र विश्वास गर्न सक्नुपर्दथ्यो। त्यसको अभाव धेरै महसुस भएको छ।
त्यसकारण पनि जहाँ हेर्यो, महिला नभएको कमजोर स्थिति देखियो। त्यसमै उहाँहरुलाई खुसी र गर्व लाग्छ भने केही भन्नु छैन। तर, त्यसले उहाँहरुको छवि राम्रो हुँदैन।
स्थायी समिति बैठकबाट यो कुराको महसुस गर्ला कि नेतृत्वले?
केही दिनअघि मात्रै अध्यक्ष प्रचण्ड कमरेडलाई भेटेर पम्फा कमरेड र मैले कमिटीमा महिला सदस्य थप्न भनेका छौं। यसरी हुँदैन भनेका छौं। सचिवालय महिलाशून्य छ। तल्लो कमिटीमा छैन। कसरी ल्याउने हो, महिलाहरु ल्याउनुप¥यो भनेका छौं। एक तिहाइ नै अहिले नहोला। तर पार्टीमा भएका महिला सदस्य जति छन् त्यसैको आधारमा महिलालाई सहभागी गराउने हो भने ३३ प्रतिशत नपुगे पनि त्यसको हाराहारीमा आउँछ भनेका छौं। महसुस गर्नुभएको जस्तो देखिन्छ। विधान संशोधनमा हामीले प्रस्ताव पनि राखेका छौं।
विगतमा महिला सहभागिता, समानतालगायत विभिन्न विषयलाई लिएर लामो सघर्ष गर्दै आउनुभयो, अहिले फेरि पुरानै विषयमा पार्टीभित्रै संघर्ष गर्दै हुनुहुन्छ। वर्षौंपछि पनि, जहाँबाट हिँडियो, त्यहीँ पुगिएछ भन्ने लाग्दैन?
जहाँबाट हिँडियो त्यही त पुगिएको छैन। प्रगति त भएको छ। राजनीतिक क्षेत्रमा ठूलो प्रगति भएको छ। आन्दोलनकै फल हो, त्यो। अहिले निरंकुशता छैन। निर्दलीय व्यवस्था पनि छैन। देशमा गणतन्त्र आइसकेको छ। त्यस रुपमा हामी धेरै माथि उठिसकेका छौं। राजनीतिक रुपमा हामी धेरै अधिकार सम्पन्न भएका छौं। तर आर्थिक, सांस्कृतिक, सामाजिक रुपान्तरणको क्षेत्रमा धेरै काम गर्न बाँकी छ।
कामको क्षेत्रमा धेरै फराकिलो भएको छ। हिजो एउटा उद्देश्य थियो। आज सिंगो देश र सिंगो समाज रुपान्तरण गर्न आवश्यक छ। हामीले गर्नुपर्ने तमाम काम बाँकी पनि छन्। तर, त्यसअघि सुरुमा नेतृत्वमा रुपान्तरणको सोच आउनुप¥यो। गणतन्त्रको सोच आउनुपर्यो। सामन्तीवादी सोच हट्नुप¥यो।
भद्दा शैली छ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेतृत्वमा हेरौं, भद्दापन छ। सामन्ती सोचले ग्रसित छन्। सुविधासम्पन्न जीवन बिताउन चाहन्छन्। हिँडाइ, डुलाइदेखि सबै कुरा सहज बनिरहेको छैन। जनताका लागि यो त गाह्रो विषय हो नि।
यहाँहरु पनि संविधानमै भएको व्यवस्था लागि पार्टीभित्र संघर्ष गरिरहनु भएको छ नि?
संघर्ष त निरन्तर हुन्छ। संघर्ष गर्नै पर्दछ। हिजो एक खालको संघर्षबाट हामीले अधिकार पायौं। आज अर्को संघर्षबाट संविधानले दिएको अधिकार प्राप्ति गर्न अझै जुर्मुराउँनुपर्छ। महिला संगठन कमजोर बन्नु हुँदैन। महिलामा एकता हुनुपर्दछ भन्ने मलाई लाग्छ।
अहिले सामन्ती व्यवस्था अन्त्य भयो। सामन्ती चिन्तन व्याप्त छ। नेतृत्वमा, समाजमा व्याप्त छ। महिलालाई जिम्मेवार तहमा पुग्न कठिन छ। विश्वास गर्दैनन्। जिम्मेवारी नै दिन सक्दैनन्। महिलाले सक्छन् भन्ने मनस्थिति बनाउन सकेका छैनन्। महिलाको मनस्थिति पनि बलियो बनाउन बाँकी छ। तर पुरुषमा झन् व्याप्त छ। सामन्ती चिन्तनबाट ग्रसित हामीले सामन्ती व्यवस्था परिवर्तन गरेर हुँदैन। हामी स्वयम् रुपान्तरित हुनुपर्छ। महिला पुरुष समान छन् भन्ने सोच र व्यवहार प्रकट हुनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।