काठमाडौं– सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कालिकोटको खडाचक्र नगरपालिका-७ घर भई काठमाडौं चावहिल बस्ने १९ वर्षीय वीरेन्द्र मल्ल र कालिकोटकै महावै गाउँपालिका-५ घर भई सुकेधारा बस्ने ३० वर्षीय दीपक शाही छन्।
उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले मंगलबार गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिबाट पक्राउ गरेको हो। उनीहरुले अर्काकै नामबाट ट्रायल दिने गरेको पाइएको प्रहरीले जनाएको छ।
साथै प्रहरीले उक्त ड्राइभिङ सेन्टरबाट विभिन्न सामानहरु पनि बरामद गरेको छ। २ थान ल्यापटप, १ थान प्रिन्टर, ११ थान नेपाली नागरिकताको नक्कली कार्ड, विभिन्न व्यक्तिको नागरिकता प्रमाणपत्र प्रयोग गरेर बनाइएको नक्कली नागरिकता ८ थान, नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, जिल्ला प्रशासन कार्यालय लेखिएको पेपर १० थान बरादम गरिएको छ।
त्यसैगरी ट्रायल परीक्षाका लागि जारी गरिने फारम ३० थान, नेपाल सरकार गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेको छाप १ थान, शाखा अधिकृतको छाप १ थान, स्ट्याम्प प्याड २ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।