काठमाडौं- सरकारले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको हो।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुलाई बोलाएर दुर्घटना न्यूनिकरण गर्न तत्काल आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको उक्त निर्देशन आएको भोलिपल्ट मन्त्रालयले समिति गठन गरेको हो।
सिन्धुपाल्चोकमा आइतबार भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए। मंगलबार भौतिक पूर्वाधार मन्त्रालयले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको नेतृत्वमा समिति बनाएको हो।
उक्त छानबिन समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधी सदस्य रहेका छन्। उक्त समितिलाई दुर्घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ।
त्यस्तै मन्त्रालयले यसअघि भएका दुर्घटनाहरुको अध्ययन गरी कारण, न्यूनिकरण उपायबारे नीतिगत र संरचनागत सुधारका उपायहरु खोज्न समेत समिति बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।