सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिका-९ सिमराहाबाट सप्तरी प्रहरीले लागुऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीचौकी काचनबाट खटिएको प्रहरी गस्ती टोलीले भारत विहारका २० वर्षीय जीतेन्द्रकुमार यादव र २२ वर्षीय शङ्कर यादवलाई पक्राउ गरेको जनाएको छ।
नेपाल-भारत सीमा छेउमा बिआर ३२ वाई ४२६५ नम्बरको मोटरसाइकल पार्क गरी कुरा गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार शङ्करले हातमा बोकेको झोलाबाट नाइट्राजेपाम ट्याब्लेट १० पत्ता (१०० वटा) र डाइलेक्स-डिसी १० बोतल फेला परेको छ। यसैगरी जीतेन्द्रको साथबाट १०/१० वटा डाइजेल्याब इन्जेक्सन, नोफिन इन्जेक्सन र फेनारगन इन्जेक्सन फेला परेको छ। दुवैजना भारतीय नागरिकविरुद्ध लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित लोकमार्गबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिका-११ का २० वर्षीय दिनेश चौधरी १५ वटा लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ प ८१४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी सामान्य घाइते भएका थिए। चौधरीको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।
नाइट्रोजन ट्याब्लेट र मोटरसाइकलसहित चौधरीलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।