जनकपुर- पछिल्ला वर्ष शान्त रहेको प्रदेश २ का जिल्लामा केही दिनदेखि पुनः अशान्ति फैलाउने र त्रास पैदा गर्ने प्रयास भइरहेको छ। सेलाएको आपराधिक समूह पुनः जुर्मुराउन थालेको देखिन्छ। श्रृंखलाबद्ध बम बिस्फोटका घटना हुन थालेका छन्।
सरकारी कार्यालय, उद्योगी तथा व्यापारीको घर, सार्वजनिक स्थानमा टाइम बम, प्रेसर कुकर र सकेट बम राख्ने अनि विस्फोट गराउने समूह सक्रिय देखिएका छन्।
प्रहरीका अनुसार केही स्थानमा विप्लव समूहले बम राखेको छ भने कतै आपराधिक समूहले चन्दा संकलन गर्न बम आतंक मचाएको छ।
शुक्रबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा राजेश साहको घरमा राखिएको बम मध्यराति बिस्फोट हुँदा राजेश साह, उनका छोरा आनन्द साह र अनुसन्धानका लागि पुगेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक
अमिर दाहालसहित ३ जनाको मृत्यु भयो र एक प्रहरी जवानसहित ४ जना गम्भीर घाइते भए।
यो घटना सेलाउन नपाउँदै जनकपुरको दुई ठाउँमा कुकर बमजस्तै देखिने शंकास्पद वस्तु फेला पर्यो।
जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बमजस्तै देखिने शंकास्पद वस्तु आईतबार राति ९ बजे फेला पर्यो। सोमवार बिहान ८ बजेतिर जनकपुर ९ को नै सरस्वती नमुना माध्यमिक विद्यालयनजिकै फेरि अर्को शंकास्पद वस्तु फेला परेको थियो।

त्यसैगरी सोमबार नै धनुषाधाम नगरपालिका–५ पर्वतास्थित उच्च माध्यमिक विद्यालयमा समेत शंकास्पद वस्तु फेला पर्यो। विद्यार्थी त्रसित भए। विद्यालयको पढनपाठन बन्द रह्यो।
विद्यालयको लेखा शाखाको झयालमा सेता प्लास्टिकमा राखिएको वस्तु बम हुन सक्ने आशंकामा प्रहरीले विद्यालय खाली गराए र बम डिस्पोजल टोली मगाइयो।
तर त्यहाँ राखिएको शंकास्पद वस्तु बम नरहेको थाहा भयो। तैपनि सोमबार दिनभर जनकपुर क्षेत्र बम आतंकले त्रासमा रह्यो।
जनकपुरस्थित बागवानीबाट संकटमोचन मन्दिर जाने बाटोमा बम नेपाली सेनाले डिस्पोज गरेको छ भने अर्को ठाउँमा राखिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भयो।
पर्वता माविमा फेला परेको शंकास्पद वस्तु झोलामा पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले फोहोर मैलामात्र फेला पार्यो। स्थानीयहरुमा त्रास फैलाउनका लागि सुनुयोजित तरिकाले विद्यालयको लेखाशाखाको झ्यालमा फोहोरको थैला राखेको हुन सक्ने अनुमान गरिएको छ।
श्रीनाथ गणका नेपाली सेनाका क्याप्टेन ज्ञानेन्द्र जैसीले भने, ‘विद्यार्थीहरुमा समेत त्रास फैलाउनकै लागि सुनियोजित ढँगले त्यो थैला राखेको हो। फोहोरको थैला विद्यालयमा किन कोही राख्छन् र? त्यो पनि लेखा शाखाकै झ्यालमै गएर? त्यो त जहाँ पनि फाल्न सकिन्छ नि, यो त्रास फैलाउने योजना मात्र थियो।’
नेपाली सेनाको बम डिस्पोजल टोलीले भेटिएका शंकास्पद वस्तुहरु बम नरहेको प्रमाणित गरे पनि यस क्षेत्रमा त्रास भने अझै कायमै छ।
बमका श्रृंखला
सोमबार तीन ठाउँमा शंकास्पद वस्तु देखियो र त्यसले आमजनतामा एक किसिमको भय तथा त्रासको वातावरण सृजना भयो। मंसिर दोस्रो साता यतामात्र हेर्ने हो भने धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट लगायत जिल्लाका विभिन्न ठाउँहरुमा बम राखिएको भेटियो।
मंसिर २८ गते सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा पनि बम बिस्फोट भयो । कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा झ्याल र ढोकामा क्षति पुग्यो। बम बिस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गर्यो।
मंसिर १३ गते सिरहा कै धनगढीमाई नगरपालिका कार्यालयको ढोकाअघि शंकास्पद झोला फेला प¥यो। उक्त शंकास्पद वस्तुको झोला नगरप्रमुख हरिनारायण चौधरीको कार्यकक्ष रहेको भवनको मूलढोका मै राखिएको थियो र त्यो झोलामा बम थियो। नेपाली सेनाको टोलीले त्यस बमलाई डिस्पोज गर्यो।
मंसिर २३ गते महोत्तरी सदरमुकाम जलेश्वर स्थित वन डिभिजन कार्यालयमा अज्ञात व्यक्ति वा समूहले प्रेसर कुकर बम राखेको पाईयो। कार्यालयको प्रांगणमा पार्किङ गरिएको गाडीको मुनि उक्त बम राखिएको थियो। नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गर्यो।
मंसिर १२ गते महोत्तरीको पिपरा गाउँपालिकाको उप निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार विक्रम चौधरीको घरमा प्रेसर कुकर बम बिस्फोट भयो।
मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा पनि बम बिस्फोट गराएको पाईयो। मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मतदातालाई त्रसित बनाउन सर्लाहीको हरिपूर्वा नगरपालिका १ को उपनिर्वाचनका लागि तोकिएको मतदान केन्द्रनजिकै बम राखिएको पाइयो। पछि नेपाली सेनाको टोलीले डिस्पोज गर्यो।
बम पडकाएर चन्दा उठाउने गिरोह पक्राउ
मंसिर २६ गते बम बिस्फोट गर्दै उद्योगी व्यवसायीलाई तर्साएर धम्क्याएर चन्दा असुली गर्ने एक गिरोहलाई बारा जिल्ला प्रहरीले पक्राउ गर्यो।
नेपाल-भारतको खुला सीमाको फाइदा उठाउँदै उद्योगी, व्यवसायी र सर्वसाधारणलाई आतंकित पारेर बम बिस्फोट र चन्दा असुली लगायतको आपराधिक कार्यमा संलग्न परवानीपुर गाउँपालिका ४ का ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जीतपुर सिमरा उपमहानगरपालिका २० का २० वर्षीय अच्चेलाल गोसाइँ र फेटा गाउँपालिका ३ का ३९ वर्षीय दीपेन्द्रकुमार धानुकलाई पक्राउ गरियो।
बाराका प्रहरी उपरीक्षक विकासराज खनालले पक्राउ पर्नेमध्ये गोढले गिरोह सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार परवानीपुर गाउँपालिका ४ स्थित एमएस इँट्टा उद्योगका सञ्चालक मनोजप्रसाद साह तेलीसँग फिरौती रकम लिने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुले तीन महिनादेखि इँट्टा उद्योगका सञ्चालक साहलाई धम्क्याउँदै १५ लाख रकमको चन्दा माग गर्दै आएका थिए। चन्दा नदिएर साहले धम्कीबारे प्रहरीमा जानकारी गराएपछि गोढसहित गिरोह पक्राउ पर्यो।
प्रहरी उपरीक्षक खनालले भने, ‘तीन महिनादेखि फोन र एसएमएसमार्फत साहुलाई धम्क्याउने र बम बिस्फोट गरेर रकम माग गर्दै आएको सूचना प्राप्त भयो, चन्दा दिने भनेर बोलाएर उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौं।’
चन्दा नदिएपछि उनीहरुले कात्तिक ४ गते तेलीको उद्योगमा बमसमेत बिस्फोट गराएका थिए। बिस्फोटपछि पनि चन्दा नदिए परिवारलाई समेत सिध्याइदिने धम्की दिएपछि साह प्रहरीसमक्ष पुगेका थिए।
प्रहरी उपरीक्षक खनालले गोढ तीन वर्षअघि हातहतियार मुद्दामा डेढ वर्ष जेल सजाय भुक्तान गरेको व्यक्ति भएको बताए। उनले भने, ‘असोज १० गते प्रसौनी ४ का नन्दकिशोर प्रसाद कुम्हालसँग गोढ सहितका व्यक्तिले ५० लाख फिरौती मागेको र
रकम नपाएपछि सुतली बम बिस्फोट गराए। परवानीपुर ४ स्थित नारायणी आयल रिफायनरीमा सुतली बम बिस्फोट गरी २५ हजार फिरौती रकम लिए।’
सुरक्षा व्यवस्था चुस्तदुरुस्त छ, नआत्तिनोस् : डीआईजी कार्की
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी प्रद्युम्न कार्कीले प्रदेश २ को सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको बताए।
शान्ति सुरक्षाका लागि प्रहरी चौबिसै घन्टा तयार रहेको बताउँदै उनले सर्वसाधारणलाई आग्रह गरे, ‘कोही पनि आत्तिनु, डराउनु पर्दैन, प्रहरी हरपल शान्ति सुरक्षाका लागि खटिन तयार छ।’
उनले प्रहरीले बम बिस्फोटसँग सम्बन्धित घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको बताए।
कार्कीले प्रदेश २ मा कुनै बम आतंक नभएको दाबी गर्दै भने, ‘महेन्द्रनगरमा बम विस्फोट भएर मानवीय क्षति भएको हुँदा केही डर त्रासको वातावरण सृजना भएको होे।’
कार्कीले चन्दा उठाउने समूहले बम राख्ने र पड्काउने गरेको उल्लेख गर्दै गैरराजनीतिक समूहले त्रास फैलाउन बम बिस्फोट गराएर चन्दा असुली गर्ने गरेको र उनीहरू आपराधिक समूह रहेको बताए। उनले कुनै–कुनै ठाउँमा विप्लव समूहले पनि बम राख्ने र पड्काउने गरेको बताए। यद्यपि यस्ता घटनामा संलग्नलाई जसरी पनि कानुनी दायरामा ल्याउने डीआईजी कार्कीले बताए।
महेन्द्रनगर बम विस्फोटको पछाडि लेनदेन विवाद नै मुख्य कारण, ४६ लाख बराबरको कागज भेटियो।
धनुषामा एक प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साहसँग लिएको ऋणको रकम साँवा र ब्याज गरी रु.४६ लाख तिर्नुपर्ने तथ्य फेला परेपछि घटनाको कडी आर्थिक लेनदेन विवाद र व्यक्तिगत दुश्मनीको कारण भएकोजस्तो देखिएको प्रहरीले बताएको छ।
बम बिस्फोट घटनाको छानबिन गर्न बनेको समितिका एक सदस्यका अनुसार घटनामा संलग्न आरोपमा पक्राउ परेका मध्ये सीतादेवी महराले राजेशसँग पाँच लाख रुपैयाँ ऋण लिएको र त्यसको साँवा ब्याज गरी १२ लाख तिर्नु पर्ने र लतिफले ४१ लाख रुपैयाँ तिर्नुपर्ने कागज गरेको पनि भेटियो।’

बम विस्फोट घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेहरु मध्ये सीतादेवी महरा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक र ललिता महरा र रामसोभित गाहा केन्द्रीय सदस्य हुन्।
बम राखेको आशंकामा हंसपुर नगरपालिका–२ बघचौडाको सिंगै टोल घेरा हालेर प्रहरीले ललितादेवी महरा र सीतादेवी महरालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अवधेसकुमार यादवले जानकारी दिए।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक उमाशंकर साहको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार राति टाइम बम विस्फोट हुँदा राजेश साह, उनका छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निरीषक अमिर दाहालको मृत्यु भएको थियो।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीका अनुसार बम विस्फोट घटनाको अहिले सम्मको अनुसन्धानबाट आर्थिक लेनदेनको कारण उत्पन्न विवाद र रिसइबी तथा दुश्मनी नै रहेको देखिएको छ । डीआईजी कार्कीले यसैका आधार
बनाएर सम्बन्धित तथ्य र प्रमाण संकलनलाई महत्वका साथ अघि बढाएर अनुसन्धानलाई फराकिलो बनाएको बताए । उनले भने, ‘अनुसन्धानमा आपराधिक गिरोह र भूमिगत समूहको संलग्नतालाई पनि एकै ठाउँमा जोडेर हेरेका छौं।’
कार्कीले विस्फोटमा परि मृत्यु हुने राजेश साह र बिप्लव समूहका सीताबीच विगतमा सम्बन्ध रहेकाले आर्थिक कारोबार भएको पाइएको बताए।
प्रहरीले विप्लव समूहबाटै बम बिस्फोट गराएको हुन सक्ने आशंकामा काठमाडौंको टोलीसमेत झिकाएर अनुसन्धान गरिरहेको छ।
छानबिन समितिका एक प्रहरी अधिकृतले बिस्फोट घटनाको पछाडि आर्थिक लेनदेन र विप्लव समूहसँगको कनेक्सन भित्रभित्रै जोडिएको देखिएको हुँदा विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान थालिएको बताए।
पक्राउ परेकी सीता महरा प्रतिबन्धित बिप्लव समूहसँग आबद्ध रहेकाले आफूले लिएको रकम ब्याज र साँवासहित फर्काउन नपरोस् भनेर उनले राजेशविरुद्ध आफ्नो भूमिगत संयन्त्र परिचालन गरेको हुन सक्ने प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।