काठमाडौ- सिन्धुपाल्चोकमा बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको सोमबार सामूहिक अन्त्येष्टि गरिएको छ।
सुनकोसी नदी किनारमा मृतकको अन्त्येष्टि गरिएको हो।
आइतबार बिहान सुनकोसी गाउँपालिकाको ६ किलोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७, याङ्लकोटका पाँच र बलेफी गाउँपालिका-५, चिम्लिङका एक गरी ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। अरु ७ जनाको शव ‘पोस्टमार्टम्’ सकेर आइतबार साँझ नै परिवारले बुुझेर लगिसकेका छन्।
प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा १४ शवको पोस्टमार्टम् गरिएको थियो।
चालक सम्पर्कविहीन, श्रीमतीको शव ‘अलपत्र’
दुर्घटनाग्रस्त बसका चालक सुमन तामाङ सम्पर्कमा नआउँदा दुर्घटनामा परी मृत्यु भएकी महिलाको लास अलपत्र भएको छ। चालक तामाङकी श्रीमती सुनिता तामाङको अन्त्येष्टि गर्नका लागि परिवारका सदस्य संर्पकमा आएका छैनन्।
सुनिताको शव अझैपनि परिवारले बुझ्न नआएको प्रहरीले जनाएको छ।
उनको शव प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमै राखिएको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० का चालक तामाङको मोबाइल ‘स्वीच अफ’ रहेको र खोजतलास गर्दासमेत उनी फेला नपरेको प्रहरीको भनाइ छ।
दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ जाँदै गरेको बा २ ख ४४६८ नम्बरको ‘रिजर्भ’ बस ६ किलोमा दुर्घटनामा परेको थियो। बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।