इनरुवा- ‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो। प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका गिरीलाई सोमबार प्रहरीले जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो।
प्रहरीले अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुुसन्धानका लागि गिरीलाई सात दिनको म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक बिनोद शर्माले जानकारी दिए। जिल्ला अदालत सुनसरीका न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णबहादुरलाई सात दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थप गरेको प्रनाउ शर्माले बताउनुभयो।
अदालतले यसअघि सिद्धबाबालाई तीन पटक गरी १४ दिनको म्याद दिइसकेको छ। अदालतले सिद्धबाबालाई सोमबारबाट लागू हुने गरी थप भएको सात दिनमा प्रहरीलाई पुनः अदालतमा उपस्थित गराउन भनेको छ।
अदालतले गिरीलाई पुनः सात दिनको म्याद थप गरेपछि उनलाई अदालतको आदेशबमोजिम तत्कालका लागि विराट नर्सिङ होममै पठाइएको सुनसरीका प्रनाउ शर्माले बताए। यसअघि प्रहरीले तीन दिनको म्यादसँगै गिरीको मुद्दा अदालतसमक्ष बुझाउने बताएको थियो। सोहीअनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाए पनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पुरक नभएकाले पुनः म्याद थपको मागसहित अदालत पेश गरिएकामा अदालतबाट सात दिनको म्याद प्राप्त भएको जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।