पोखरा- ‘फिल्म भनेको सपनालाई विपनामा कोरिएको चित्रजस्तो लाग्छ’ कलाकार सुरक्षा पन्त फिल्मको परिभाषा यसरी दिन्छिन्।
‘धनपति’ बाट नेपाली फिल्म उद्योगमा चम्किएकी सुरक्षाको अभिनयका प्रशंसक धेरै छन्।
हालकी व्यस्त कलाकार उनै सुरक्षा अभिनयका लागि पात्रको तयारी कसरी गर्छिन्?
यो सबैलाई चासोको विषय बन्नसक्छ।
भन्छिन्, ‘पात्रको तयारीका लागि मलाई पात्रको द्वन्द्व के हो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण लाग्छ। त्यो बुझेपछि मात्र म तयारी गर्छु।’
पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिभलको ‘पात्रको तयारी’ सेसनमा सुरक्षा आफ्नो अनुभव बताउँदै थिइन्।
पहिलो फिल्म खेल्दा सुरक्षा निश्चित थिइनन् कि फिल्ममा अभिनय गर्छु भनेर। कारणबस अभिनय त गरिन्। तर पहिलो फिल्म खेलेपछि नै उनको अभिनयसँग माया बस्यो। ‘तपाईंको खाँचो छ’ भनेर धेरै प्रशंसकले गरेको म्यासेजबाट उनमा उत्साह बढ्यो।
‘मेरो पर्फेक्सनमा म क्रिटिक्सको दर्शकमा पर्थेँ। म जुन कुरा कमेन्ट गर्थेँ त्यो कम्प्लेन मैले आफैंलाई गर्नुहुन्थेन,’ पहिलो फिल्म खेल्दाको अनुभव सुरक्षाले सुनाइन्।
फिल्म ‘धनपति’ मा अभिनय गर्दा पनि उनी धेरै गम्भीर बनेकी थिइन्। त्यसमा उनले कम बोलेर धेरै दर्शक प्रभावित बनाइन्। ‘नबोल्नु पनि एउटा अभिनय हो। मैले धनपतिमा साइलेन्ट वे मा देखिने क्यारेक्टर निभाएको थिएँ,’ सुरक्षाले भनिन्।
सुरक्षा चरित्रप्रति कति गम्भीर छिन् भन्ने कुराका प्रमाण हुन् कपाल। फिल्ममा भूमिकाकै लागि उनले कपाल खौरिइन्। ‘मैले कपाल नकाटेको भए फिल्मको औचित्य थिएन’, उनले प्रसंग कोट्याइन्।
सेसनमा सहभागी थिए अर्का लोकप्रिय कलाकार विपीन कार्की। विपीन यस्ता कलाकार हुन् जसले खेलेका हरेक फिल्मका क्यारेक्टर स्थापित हुन्छन्।
कसरी हुन्छन् त स्थापित?
‘म स्क्रिप्ट हेरेपछि मात्र के गर्ने भनेर तय गर्छु। निर्देशकले के खोजिरहेका छन् त्यसमा ख्याल गर्छु। पात्रलाई लिएर सबैलाई मध्यनजर गरेर गर्छु,’ विपीन भन्छन्।
चरित्र निर्वाह गर्दा प्रशस्त अध्ययन चाहिने उनको मत छ। ‘क्यारेक्टरको लागि साहित्य पनि पढ्नुपर्छ। जुन भाषामा मैले अभिनय गर्ने हो, त्यसमा ज्ञान हुनुपर्छ। त्यसले अभिनयलाई फाइदा गर्छ, अनि अर्कोचाहिँ कल्पनाशीलता। आफ्नो कल्पनाले नै म मेरो क्यारेक्टरलाई बलियो बनाउन सक्छु।
विपीनलाई धेरै मन पर्ने आफ्नो क्यारेक्टर हो ‘हरि’ फिल्ममा निभाएको चरित्र। यसमा आफूले ३–४ महिनादेखि नै तयारी गरेको अनुभव सुनाउँछन्।
‘क्यारेक्टरबारे सोचिरहेँ भने त्यही पात्रबारे आउँदो रहेछ। लेखकले लेखेको कुरा कलाकारसम्म आइपुग्दा कलाकार नै जान्ने भइसकेका हुँदा रैछन्,’ उनी अनुभव बाँड्छन्।
फिल्मको सुटिङ भने सिस्टमेटिक नभएको उनको बुझाइ छ। ‘आजको आजै हेरेर हप्तादिनमै फ्लोरमा जानुपर्दा स्क्रिप्ट पढिन्छ मात्र’, विपीन बताउँछन्।
नेपाली फिल्ममा प्रायः मुख्य पात्रका लागि सहायक पात्र कमजोर बनिदिन्छन्। यस्तो किन हुन्छ भन्ने सहजकर्ताको प्रश्नमा फरक मत राख्दै विपीन भन्छन्, ‘मुख्य पात्र भनेको एक जना हुन्छ नै। मुख्य पात्रलाई राम्रो बनाउन सहायक पात्रको भूमिका एकदमै राम्रो हुन्छ। एक जनाको मात्र राम्रो भन्ने कहिल्यै हुँदैन।’
नेपाली फिल्म उद्योगमा ‘हाकु काले’ उपनामले परिचित छन् कलाकार सौगात मल्ल। फिल्म ‘लुट’ मा सौगातले स्थापित गरेको पात्र हो हाकु काले।
१४ वर्षको उमेरदेखि नै कलात्मक फिल्ममा रुचि राख्ने सौगातलाई तिनै पात्रहरूले तान्न थाले। सानोमा हिरो बन्ने सपना साँचेका उनको अभिनयप्रतिको बुझाइलाई तिनै फिल्महरूले बिस्तारै बदलिदिए।
सेसनमा उनले सुरक्षा र विपीनसँगै आफ्ना अनुभव सुनाइरहेका थिए।
उनी पात्रका लागि फरक–फरक मान्छेबाट क्यारेक्टर लिने बताउँछन्। ‘एउटै मान्छेबाट सबै कुरा लिन्न मँ। कसैबाट रुप, कसैबाट मन वा कसैबाट कपडा लिन्छु। तीन वा चार क्यारेक्टरबाट म एउटा पात्र निर्माण गर्छु,’ सौगात भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।