रोल्पा- जिल्लाको अस्तित्व आउनुपूर्व अहिलेको रोल्पाको भूभाग प्युठान, दाङ, सल्यान र रुकुममा पर्थ्याे। थवाङ प्युठानमा थियो। प्युठानी शिक्षक खगुलाल गुरुङ र कम्युनिष्ट नेता मोहनविक्रम सिंहले २०१३ सालमा किसान संगठनको नाममा कम्युनिष्ट पार्टीको आधार तयार गरे। राजनीतिक चेतना अत्यन्तै न्यून रहेको अवस्थामा पनि थवाङमा गठन भएको कम्युनिष्ट पार्टीले आजपर्यन्त थवाङको एकल वर्चस्व कायम गरिरहेको छ।
नेपाल एकीकरणपूर्व बाईसे चौबीसे राजाहरूको दमन, उत्पीडनविरुद्ध संघर्ष गरि राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमै सधै चर्चाको शिखरमा रहने थवाङले अहिलेसम्म पनि उक्त विरासतलाई निरन्तरता दिइरहेको देखिन्छ। बाईसे चौबीसे राजा लालु शाही र कालु शाहीलाई थवाङवाट लखेटेसँगै राज्यसँग प्रतिरोधी भावना वोक्दै आएका उनीहरूले २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा सम्पूर्ण भोट तत्कालीन कम्युनिष्ट पार्टीलाई दिएका थिए।
२०३७ सालको जनमत संग्रहमा भने सबैले बहुदलमा खसालेका थिए। २०३८ सालको निर्वाचन बहिस्कार गरेको तथा बहुदलमा लागेकै कारण सोही वर्ष तत्कालीन शाही नेपाली सेनाबाट मेजर अपरेशनको सामना गरेको थियो। बहुदलीय व्यवस्था पुनःस्थानासँगै २०४८ सालमा भएको पहिलो आमचुनावमा संयुक्त जनमोर्चा नेपालका उम्मेदवार कृष्णबहादुर महरालाई शतप्रतिशत मत दिए।
२०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा निर्विरोध भएको थियो भने २०५१ को मध्यावधि निर्वाचनमा थवाङवाट ४ भोटमात्र खसेको थियो। यो अवधिसम्म आईपुग्दा थवाङमाथि राज्यको चरम आतंक थियो। यही समयमा पहिलोपटक ४ भोट कम्युनिष्ट इतरका दललाई परेको हो। २०५४ सालमा थवाङमा मतदान हुन सकेन। २०५६ को निर्वाचनमा भने सदरमुकाम लिवाङ बस्दै आएका २ जनाले सेनाको हेलिकप्टेरमा गएर मतदान गरेका थिए।
सात राजनैतिक दल र नेकपा माओवादीबीच भएको शान्ति सम्झौतापछि २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा थवाङले सबै मत तत्कालीन माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई दियो । निर्वाचन गराउन गएका २ व्यक्तिबाहेक सबै भोट दाहालले पाएका थिए। थवाङवाट मात्रै दाहाले उक्त चुनावमा तीन हजार ६ सय बढी मत पाएका थिए। त्यतिबेला दाहाललाई जिताउन थवाङमा फर्जी मतदान भएको आरोपसमेत लागेको थियो। रोल्पा २ र काठमाडौं १० बाट उम्मेदवार बनेका दाहालले एक स्थान रोज्दा रोल्पालाई छाडेर काठमाडौं रोजेपछि दाहालप्रति थवाङीहरू सशंकित हुन थालेका हुन्।
मोहन वैद्य र दाहालसँगै बस्न नसक्ने भएपछि ०६९ सालमा पार्टी विभाजन भयो। थवाङलाई आफ्नो पक्षमा तान्न दुवै नेताले ठूलै कसरत गरे। पार्टी विभाजनलगत्तै २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा शुन्य मतदान भयो। थवाङीले वैद्यको पार्टी रोजे। वैद्यसँगै रहेका युवा नेता नेत्रविक्रम चन्दले बुढाहरूले क्रान्ति नगर्ने भन्दै २०७२ साल मंसिरमा वैद्यसँग सम्बन्धविच्छेद गरेको बताउँदै नयाँ पार्टी घोषणा गरे।
विभिन्न समयमा राज्यविरुद्ध विद्रोह गर्र्दै आएको थवाङ पछिल्लो राजनैतिक परिवर्तनसँगै विभाजित भएको बताईन्छ। पैसा र पावरले थवाङलाई केही समय फुटाए पनि अन्ततः एक हुने एक पक्षको विश्वास छ भने अर्को पक्ष वहुलवादी समाजमा वहुल राजनीतिक धु्रविकरण स्वभाविक रहेको अर्को पक्षको बुझाई छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र केपी वली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित थवाङमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट आस्था राख्ने व्यक्तिहरूको पनि उपस्थिति रहेको बताईन्छ।
चौधौं शताब्दिमा छापकोटे राजा र सत्रौं शताब्दिमा रुकुमकोटे राजालाई घोडाबाट खसालेर राज्यविरोधी कित्ताका उभिएको थवाङले एक्काईसौं शताब्दिमा आईपुग्दासमेत आफ्नो पुरानो विरासतलाई कायमै गरेको देखिन्छ। देशमा भएका ठूला परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको थवाङ परिवर्तनपछि भने सधै सत्ताको विपक्षमै रह्यो।
मगरवाहुल्य थवाङमा पछिल्लोपटक अन्य जातीको समेत मिश्रित बासस्थान बन्न पुगेको छ। दलित, ठकुरी, नेवारहरू पनि थवाङको वासिन्दा भएसँगै एकल जातीय बसोबास रहेको थवाङ अब बहुजातीय समाज बन्न पुगेको छ। समुन्द्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको यो गाउँ समथर भूभागमा छ। साविक थवाङ गाविसमा करिब १ हजार घरधुरी छ।
काठको फ्लेक र स्लेट ढुंगाले छाना छाएका गुजुमुज्ज र बाक्ला घरमा प्राचिन कला संस्कृति झल्कने हस्तकलासमेत अंकित छन्। साविक थवाङ गाविसको ३ वटा वडा रहेको ठूलो गाउँलाई नै थवाङ भन्ने गरिन्छ जहाँ २२९ घरधुरीको बाक्लो वस्ती छ। गाउँमा रहेका सबै बस्तीमा ढुंगा विछ्याएर गाउँलाई नै सफासुग्घर राखिएको छ। शहिद स्मृति क्याम्पस,शहिद स्मृति पार्कसमेत समुदायले सञ्चालन र रेखदेख गरेका संरचना हुन्।
सत्ताको विपक्षमा हुनु यहाँको विशेषता हो। कुनै पनि शासकले आफूहरूलाई नजिक ल्याउने प्रयास नगरेको थवाङीको आरोप छ। राज्यको मूल प्रवाहमा समाहित भएको अनुभूति नगरेका थवाङीहरू दश वर्ष लामो सशस्त्र युद्ध पछिको शान्ति प्रकृया र पछिल्लो राजनैतिक परिवर्तनपछि पनि सन्तुष्ट देखिँदैनन्। ‘विगतमा सिंगो थवाङ सत्ताको विरुद्ध उभिन्थ्यो, पछिल्लो पटक सत्ता र पैसाको वलमा थवाङलाई फुटाउने कोशिस गरियो’, एक युवाले भने।
थवाङमा निर्वाचन
साल निर्वाचनको प्रकार खसेको मत
२०१५ संसदीय निर्वाचन सबै मत खगुलाल गुरुङलाई
२०१८ गाउँ पंचायत निर्वाचन धर्मबहादुर रोकाको टिम निर्विरोध
२०२४ गाउँपंचायत निर्वाचन बर्मन बुढाको टिम निर्विरोध
२०३७ जनमत संग्रह शतप्रतिशत भोट बहुदलको पक्षमा
२०३८ राष्ट्रिय पंचायत सदस्य शतप्रतिशत वहिष्कार
२०३९ गाउँपंचायत निर्वाचन तुलकुमारी बुढाको टिम निर्विरोध
२०४३ राष्ट्रिय पंचायत सदस्य सबै बमकुमारी बुढालाई
२०४४ गाउँपंचायत निर्वाचन कमलबहादुर झाँक्रीको टिम निर्विरोध
२०४८ संसदीय निर्वाचन शतप्रतिशत भोट कृष्णबहादुर महरालाई
२०४९ स्थानीय निकायको निर्वाचन रुजबहादुर रोकाको टिम निर्विरोध
२०५१ मध्यावधी निर्वाचन ४ भोटमात्रै खसेको
२०५४ स्थानीय निकाय निर्वाचन निर्वाचन हुन सकेन
२०५६ प्रतिनिधि सभा निर्वाचन २ भोटमात्रै खसेको
२०६४ संविधान सभा सदस्य निर्वाचन ३ मतबाहेक सवै भोट पुष्पकमल दाहाललाई
२०७० संविधान सभा सदस्य निर्वाचन शुन्य मतदान
२०७४ स्थानीय तह निर्वाचन २९ प्रतिशत
२०७६ उपनिर्वाचन १६ प्रतिशत मतदान भएको
थवाङमा बहुदल
२०१५ देखि ०७० सालसम्म थवाङले बहुदलको अभ्यास गर्न पाएन। हरेक निर्वाचनलाई कम्युनिष्टहरूले एकतर्फी प्रभाव पार्थे। शतप्रतिशत बहिष्कार वा शतप्रतिशत कुनै एक पक्षलाई मतदान यहाँको विशेषता वनेको थियो। कृष्णवहादुर झाँक्री र बर्मन बुढाको तालुकदारी विवादवाट थवाङ २०१२ सालमै फुटेको थियो। कृष्णबहादुरलाई मुखियावाट विस्थापित गरि बर्मन आफैं मुखिया हुन चाहन्थे। फलस्वरुप बर्मन पक्षले कृष्णवहादुर पक्षलाई गाउँमै थुनेर राख्यो।
तीन दिनसम्म बर्मनकै घरमा थुनिएका उनी बर्मन समूहको जितपछि थुनाबाट निस्किए। पछि भूमिसुधार अड्डाले बर्मनलाई नै मुखियाको जिम्मेवारी दियो। बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०४८ सालमा भएको संसदीय निर्वाचनमा बर्मन रोल्पा १ वाट निर्वाचित भए। बर्मनको गाउँ थवाङ भने निर्वाचन क्षेत्र नम्बर २ मा पथ्र्याे।
पञ्चायतकालमा भएका गाउ पञ्चायतका सबै निर्वाचन बर्मन पक्षधरले जिते। बहुदलीय व्यवस्था पुनस्र्थापना पछिका सवै निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार निर्विरोध भए। २०५१ सालमा नेकपा माओवादीले चुनाव बहिष्कार ग¥यो। उक्त निर्वाचन गराउन बाहिरबाट गएकाहरूले ४ वटा भोट खसाले। २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका २ कार्यकर्ताले रुख चिन्हमा भोट खसाले। थवाङमा जनताबाट कम्युनिष्टईतर भोट गएको यो नै पहिलो हो। सदरमुकाम बस्दै आएका नेपाली कांग्रेसका २ कार्यकर्तालाई हेलिकप्टेरद्वारा भोट खसाल्न थवाङ लगिएको थियो।
२०७४ को चुनावपछि मात्रै थवाङमा बहुदलीय प्रतिस्पर्धा सुरु भएको हो। तत्कालीन माओवादी पार्टीमा आएको फुटपछि मात्रै थवाङमा बहुदलको अस्तित्व देखिन थालेको हो। राज्य पुनरसंरचनासँगै साविक थवाङ गाविसलाई हाल थवाङ गाउँपालिका १ र २ मा राखिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा थवाङ गाउँपालिका १ मा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। उक्त वडावाट स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढाले ३५९ मत ल्याएर निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रका उम्मेदवार ग्रिस पुनले उक्त निर्वाचनमा २५६ मत ल्याएका थिए।
नेकपा एमालेका उम्मेदवार तिर पुनले १३ मत प्राप्त गरेका थिए। यसैगरि वडा २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वसन्त घर्ती ४१० मत प्राप्त गरि विजयी भएका थिए। स्वतन्त्र उम्मेदवार लिलाराम रोकाले २९५ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार ज्ञानवहादुर रोकाले ३८ मत प्राप्त गरेका थिए।
वडा नम्बर १ का वडाध्यक्ष फर्कबहादुर बुढाको मृत्युपश्चात् गत मंसिर १४ गते भएको उपनिर्वाचनमा सो वडामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रतिस्पर्धा गरेका थिए। १ हजार २८८ मतदाता रहेको सो निर्वाचनमा २०९ मत खसेको थियो। खसेको मतको आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जनक बुढाले १७४ मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसका कलम रोकाले सो निर्वाचनमा २६ मत प्राप्त गरेका थिए। २०७४ सालको निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले वहिष्कार गरे पनि कार्यकर्ताले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पार्टी अनुशासन नमानेको भन्दै थवाङको नेतृत्व तहमा रहेका युवा नेता अमित घर्ती लगायतलाई पार्टीले कारबाहीसमेत गरेको थियो। गत मंसिर १४ मा सम्पन्न उप निर्वाचनमा भने विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले निर्वाचनमा सहभागिता जनाएन।
परिणामतः १६ प्रतिशतमात्रै मतदान भयो। पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसले मत बढाएको छ। ४ वटा मतमात्रै भएको नेपाली कांग्रेसले उप निर्वाचनमा २६ मत प्राप्त गर्नु लोकतान्त्रिक विचारको जीत भएको नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकवहादुर खत्रीको भनाइ छ। ‘थवाङमा पनि कांग्रेसप्रति लोकप्रियता बढ्दैछ भन्ने संकेत हो,’ खत्रीले भने।
उपनिर्वाचन पर्यवेक्षणमा गएका अभिवक्ता दामोदर सुवेदीका अनुसार थवाङमा परिस्थिति सहज नभएको बुझाइ छ। ‘भयरहित अवस्था छैन। वार्ता सम्वादद्वारा असन्तुष्ट पक्षको समस्या हल नगर्ने हो भने थवाङमा असहज अवस्था आउन सक्ने संकेत देखिन्छ,’सुवेदीले भने। थवाङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले समेत निर्भयका साथ काम गर्न पाएजस्तो नदेखिएको उनले बताए।
वडा नै खाली, थपिँदै जटिलता
वडाध्यक्ष फर्कबहादुर बुढाको मृत्युपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य भद्रकुमार झाँक्रीले लिए। लामो समय कार्यवाहक वडाध्यक्ष रहेका झाँक्री सर्वसम्मत वडाध्यक्ष हुन चाहन्थे। मनोनयन दर्ता गर्दा उनले बहालवाला पदबाट राजीनामा दिए र स्वतन्त्र उम्मेदवारी दिए। सञ्चार माध्यमले उनलाई विप्लव नेकपाको उम्मेदवार भनेर प्रचार गरे। विप्लवले समेत निर्वाचनमा भाग लिए भनेर सामाजिक सञ्जालमा समेत चर्चा भयो।
त्यसपछि उनले आफू कुनै दल विशेषको नभई स्वतन्त्र उम्मेदवार भएको स्पष्टीकरण दिए। विप्लव नेतृत्वको नेकपा थवाङलेसमेत प्रेस विज्ञप्तिमार्फत् आफ्नो पार्टीले निर्वाचनमा भाग लिएको भन्ने समाचारको खण्डन गर्यो। स्वतन्त्र उम्मेदवारी दिएका झाँक्री आफ्नो पार्टीको कार्यकर्ता नभएको तर प्रगतीशिल सोच भएको व्यक्ति रहेको स्पष्टीकरण सहितको विज्ञप्ति विप्लव समूहले जनायो। थवाङमा विप्लव नेकपाले समेत उम्मेदवारी दिएको भन्ने चर्चा चुलिएपछि कार्तिक २९ गते बेलुका सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा सहभागिता नजनाउन जनसमुदायलाई अपिल गर्दै विज्ञप्ती जारी गरेका थिए।
निर्वाचनको नाममा विभाजन ल्याउन नहुने भन्दै थवाङीहरूले सर्वसम्मतिको लामो प्रयास गरे। प्रयास असफल भयो। तर स्वतन्त्र उम्मेदवारी दिएका झाँक्रीले उम्मेदवारी फिर्ता लिए। ‘सहमतिको अन्तिम प्रयास असफल भएपछि उम्मेदवारी फिर्ता लिएको हुँ’, झाँक्रीले भने। ‘एकता थवाङको पहिचान भएकाले सोही पहिचान कायम गर्न सहमतिको प्रयास गरियो तर सफल नभएपछि चुनाव नलड्ने निर्णयमा पुगें,’ झाँक्रीले भने।
सो वडाका सबै सदस्यले राजीनामा दिएका छन्। राजीनामा दिनेमा जीतकुमारी विक र रामपुरी विक छन्। सदस्य झाँक्रीको गत सोमबार राजीनामा स्वीकृत भईसकेको छ भने बाँकी २ सदस्यको भने हालसम्म राजीनामा स्वीकृत गरिएको छैन। अर्का वडा सदस्य लकप बुढाले निर्वाचनपश्चात् सपथ ग्रहण समेत नलिएर अनुपस्थित भएपछि गाउँकार्यपालिकाले निलम्वन गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।