सिन्धुपाल्चोक- सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रामा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ।
दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका-९ की वर्ष ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितिका २४ वर्षीय महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षीया मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षीया गङ्गामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी ७ वर्षीया सबना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ।
बाँकी दुईको भने सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। दुर्घटनामा घाइते भएका चार जनाको काभ्रेको धुलिखेल र १४ घाइतेको ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। स्थानीय सिन्धु सदावहार अस्पतालमा प्राथमिक उपचार गरेपछि गम्भीर घाइते भएका सबैलाई अन्यत्र सिफारिस गरिएको अस्पतालले जानकारी दिएको छ।
मृतक सबैको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। मृतकका आफन्त सबै अस्पतालमा आएकाले प्रक्रिया पूरा गरेर शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताए। ह्याम्स अस्पतालमा लगिएका बिरामीको अवस्था गम्भीर रहेको र दुईको टाउकोको शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए।
अन्य घाइतेको पनि चिकित्सकको ठूलो टोलीले उपचार गरिरहेको भण्डारीले जानकारी दिए। कालिञ्चोक तीर्थ यात्रा गरी भक्तपुर जाँदै गरेको बस आइतबार बिहान साढे ७ बजे लामोसाँघु जिरी सडकखण्डको छ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको थियो। भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बसका चालक भने हाम फालेर भागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
लामोसाँघु जिरी सडकखण्डको छ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए। घाइते दीपक तामाङका अनुसार बसको सीटभरि यात्रु थिएनन्।
ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिए। यसअघि गत असोजमा सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाति गाउँपालिका-१० बडहरे झिल्के मोडमा दुर्घटना हुँदा ११ को मृत्यु र ४० भन्दा बढी घाइते भएका थिए। साथै पछिल्लो पटक कात्तिकमा दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १७ को मृत्यु भएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।