सिन्धुपाल्चोक– दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका- ७ स्थित ६ किलोमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा १८ जना घाइते भएका छन्। उनीहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले बताए।
मृतक १४ जनामध्ये दोलखा भीमेश्वर नगरपालिका- ६ का जुनु तमाङकोमात्र सनाखत भएको छ। मृत्यु हुनेमा आठ महिला, तीन पुरुष, एक बालिका र दुई बालक रहेका छन्। मृतकमध्ये अधिकांश सिन्धुपाल्चोक जुगल गाँउपालिकाका रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेहरुमा सिन्धुपाल्चोककाे जुगल गाँउपालिकाका धेरै रहेका छन्।
वर्ष ३६ की गंगामाया तमाङ, जुगल गाउँपालिका वडा नम्बर ७
उनको दुई वर्षको छोरी आयुषा तमाङ
२२ वर्षका धनकाजी तमाङ
२४ वर्षकी रञ्जीता तमाङ
२६ वर्षकी हरिमाया तमाङ
३७ वर्षका दोर्जे तमाङ
१६ वर्षका सागर तमाङ
३० वर्षका दिपक तमाङ
२४ वर्षकी नैना तमाङ,
दोलखा शैलुङ् गाँउपालिका वडा नम्बर २ का सहचालक गिपलव तमाङ
भक्तपुरका सागर केसी
नाम नखुलेको ५/६ महिनाकी एक बालिका रहेका छन्।
घाइतेमध्ये सहचालक गिपलव तमाङ, सागर केसी, दोर्जे तमाङ र सागर तमाङलाई उपचारको लागि काठमाडौं पठाइएको छ। चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र बाँकी घाइतेको सिन्धुपाल्चोक खाडीचौरको सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।