काठमाडाैं- गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने बताएका छन्।
बम विस्फाेटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको बताए। 'यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारबाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु', फेसबुकमार्फत उनले भनेका छन्।
'धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गएराति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह र आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।', गृहमन्त्री थापाले भनेका छन्।
स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो। सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि ज्यान गएको प्रहरीले जनाएको छ।
राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका जनाइएको छ। शुक्रबार राति करिब १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा राजेशकी श्रीमती शौचका लागि उठेका बेला केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।