जनकपुर- धनुषामा मध्यरातमा भएको शक्तिशाली बम विस्फोटमा परी एकैपरिवारका बाबु-छोरासहित एकजना प्रहरी अधिकृतको मृत्यु भएको छ। घटनामा अन्य ४ जना गम्भीर घाइते भएका छन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।
विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज इन्स्पेक्टर अमिरकुमार दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। विस्फोटमा परी राजेश साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्कीकुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह घाइते भएका छन्। यस्तै प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन्।
घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारका धरान पठाइएकाे छ।
यसरी भयो घटना
शुक्रबारराति करिब १२ बजे राजेश साहको नवनिर्मित घरको बाहिरको फलामको गेटमा बम झुन्ड्याइएको थियो। राजेशकी श्रीमती शौचका लागि उठेको बेला ढोकामा केहि झुन्डिएको देखेर श्रीमानलाई उठाइन्। उनकाअनुसार राजेशले बम झुन्डिएको ढोका खोलेर नयाँ घरमा सुतिरहेका छोरा छोरीहरुलाई बाहिर निकालेर प्रहरीलाई खबर गरे।
खबर पाउनासाथ इन्स्पेक्टर अमिरको नेतृत्वमा प्रहरी टाेली घटना स्थलमा खटियाे। गेटमा झुन्ड्यिाएको झोला बम हो वा होइन भनि एकिन गर्नका लागि इन्स्पेक्टर दाहालले छोएर हेर्न खोज्दा विस्फोट भएको घटनास्थल पुगेका एक प्रहरीले बताए।
विस्फोटमा परी अगाडि रहेका राजेश साह, उनका छोरा आनन्द साह र इन्स्पेक्टर अमिरकुमार दाहाल गम्भीर घइते भए।अलिपछि रहेका प्रहरी जवान रिजनाथ महतो, साहका अर्का छोरा प्रकाश, छोरी अञ्जली र बुबा भिखारी साह पनि गम्भीर घाइते भए।
सबै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल पठाइएकोमा राजेश र आनन्दको पहिल्यै मृत्यु भइसकेको र उपचारको क्रममा इन्स्पेक्टर दाहालको शनिबार बिहान ६ः५० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
मृतक औषधी व्यवसायी साहको विभिन्न ठाउँमा रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको अनुमान गरिएको छ। प्रहरी नायब उपरीक्षक कार्कीले बम कसले र किन राख्यो भन्ने थाहा हुन नसकेकाे बताए। घटनाका बारेमा अनुसन्धान थालेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।