अमरगढी- एक्कासी मौसममा आएको परिवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वर्षाले जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लामा हिमपात भएको छ।
हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ। बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका पहाडमा हिमपातका कारण जनजीवन प्रभावित बनेको हो। रातिदेखि सुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले जिल्लाका सुदूरपहाडको प्रवेशद्वार डडेल्धुराको भीमदत्त राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ। सवारी साधन सञ्चालनमा नआएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
चिसोका कारण पाँच वर्षमुनिका बालबालिकालाई निमोनिया हुन सक्ने भएकाले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन्। यस वर्ष हिउँदयामका समयमा वर्षा भएका कारण हिँउदेबाली सप्रिने भन्दै किसान भने खुशी भएका छन्।
यतिबेला परेको पानीले गहुँ, जौ लगायतका अन्नबाली तथा फलफूललाई राम्रो गर्ने कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए। सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको बताइएको छ।
यसैगरी बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी-दार्चुला सडक खण्डअन्तर्गत सतबाँझमा हिमपात हुँदा त्यहाँका सडकसमेत बन्द भएका छन्। तापक्रम घट्दै जानुका साथै मौसम पनि बिग्रँदो अवस्थामा रहेको बताइएको छ। बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले गर्दा इन्टरनेटलगायतका सञ्चार सेवा समेत अवरुद्ध भएका छन् भने हिमपातले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्न असहज भएको उग्रतारा यातायात प्रालिले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।