सूचना आयोगको नियुक्तिमा सर्वोच्चले सरकारलाई छलफलमा बोलायो

नेपाल लाइभ | २०७६ मङ्सिर २५ बुधबार | Wednesday, December 11, 2019 १७:३७:०० मा प्रकाशित

काठमाडौं- सर्वाेच्च अदालतले उपसभामुखको अध्यक्षतामा राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तमा भएको सिफारिसमा छलफल गर्न सरकारलाई बोलाएको छ। 

न्यायाधीश मनोज शर्माको एकल इजलाशले आइतबार दुवै पक्षलाई छलफलमा बोलाएको हो। 

उपसभामुख शिवमाया तुम्वाहाम्फेको अध्यक्षतामा बसेको समितिले गरेको निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर भएको थियो। उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले दुवै पक्षसँग छलफल गर्ने निर्णय गरेको हो। सर्वोच्चले उपसभामुखले सभामुखको अधिकार प्रयोग गर्नुको कारण लिखित रुपमा पेश गर्न पनि भनेको छ।  

अधिवक्ताहरु विष्णु लुइटेलले सभामुखको अधिकार प्रयोग गरी उपसभामुखको अध्यक्षतामा बैठक बस्नु गैरकानुनी हुने जिकीर गर्दै रिट दायर गरेका थिए। 

सार्वजनिक सरोकारको रिटमा उपसभामुख शिवमायाले सुचनाको हकसम्बन्धी ऐनको दफा ११ को व्यवस्था विपरीत गरेको जिकीर गरिएको थियो। निवेदनले पहिलो सुनुवाईमै उक्त निर्णय रोक्न अन्तरीम आदेश जारी हुनुपर्ने माग गरेका थिए। अदालतले अन्तरीम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न आइतबारका लागि समय तोकेको हो।  

सभामुखको अधिकार उपसभामुखले प्रयोग गर्ने कल्पना ऐनले नगरेको जिकीर रिटमा गरिएको छ। 

सभामुख, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा सदस्य रहेको समितिले पदाधिकारीको नाम सिफारिस गरेको थियो। सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणीको उद्योग मुद्दामा थुनामा गएपछि उक्त पद रिक्त रहँदै आएको थियो।

संसद अधिवेशन बोलाउने तयारी हुँदै गर्दा आयोगको पदाधिकारी सिफारिस भएको थियो। उपसभामुखको सिफारिस मन्त्रीपरिषद्ले पनि अनुमोदन गरिसकेको छ। राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्न सक्ने भन्दै रोक्नका लागि सर्वोच्चमा अन्तरीम आदेश माग गरेर रिट दायर गरिएको छ। रिटको सुनुवाई पेशी बुधबारलाई तोकिएको छ। 

समितिले प्रमुख आयुक्तमा सूचना तथा सञ्चार मन्त्रालयका पूर्वसचिव महेन्द्रमान गुरुङलाई नियुक्त गर्न सिफारिस गरेको थियो। 

उनी नेकपा महासचिव विष्णु पौडेल र सञ्चारमन्त्री बास्कोटा निकट मानिन्छन्। उनीहरुको जोडबलमा प्रमुख आयुक्तमा उनी सिफारिस हुन सफल भएका हुन्। 

आयुक्तहरुमा दिपक मैनाली सिफारिस भएका थिए। मैनाली तत्कालीन नेकपा माओवादी निकट प्रेस संगठनको उपाध्यक्ष हुन्। उनी नेकपा अध्यक्ष पुष्पकलम दाहाल निकट मानिन्छन्। अर्की महिला आयुक्त कमला ओली थापा हुन्। थापा केपी शर्मा ओलीका विश्वासपात्रमध्ये पर्ने नेकपा सुदुरपश्चिमका अध्यक्ष कर्ण थापाकी श्रीमती हुन्। थापा पेशाले कानुन व्यवसायी समेत हुन्।