काठमाडौं- सावरीको मेकानिकल परिक्षण गर्न सरकारले विसं २०६८ मा भेइकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) सञ्चालन गर्ने निर्णय गरेको थियो। तर उक्त सेन्टर हालसम्म पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। जसका कारण सवारी दुर्घटना न्यूनिकरण गर्ने सरकारी योजना अलपत्र छ।
सवारी दुर्घटनाको मुख्य कारण मध्येको एक यान्त्रिक कारण हो। सार्वजनिक सवारीको यान्त्रिक परीक्षण हरेक ६ महिनामा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर हालसम्म यो कार्यान्वयनमा आउन सकेको छैन। जसका कारण सवारी दुर्घटना बढेको सरोकारवालाहरुको भनाइ छ।
सवारी ऐनले सार्वजनिक सावरी हरेक ६ महिनामा जाँच गर्नुपर्ने व्यवस्था गरेको टेकू स्थित सवारी परीक्षण कार्यालयका प्रमुख रामचन्द्र पौडेलले बताए। ‘कानुनले व्यवस्था गरेको भएपनि हालम्म कार्यालयले टेम्पो, ट्याक्सी र माइक्रोबसले मात्र परीक्षण गराउँदै आएका छन्,’ उनले भने, ‘गर्नुपर्ने सबै सार्वजनिक सवारीले हो तर त्यसो हुन सकेको छैन।’ भिएफटिसीबाट हाल दैनिक सरदर ५० वटा सवारीले मात्र परीक्षण गराउँदै आएको उनले बताए।
सवारी दुर्घटना हुनुमा चालक, बाटो, यान्त्रिक गरी तीन कारणलाई मुख्य मानिन्छ। विश्वका विभिन्न देशमा भएको अध्ययन अनुसार १२ प्रतिशत यान्त्रिक कारणले दुर्घटना हुने गरेको तथ्यांक छ। तर नेपालको सन्दर्भमा भने यो बढी हुनसक्ने पौडेलले बताए।
‘हाम्रो देशमा कुन कारणले धेरै दुर्घटना भएको हो भन्ने अध्ययन त भएको छैन,’ उने भने, ‘तर नेपालमा सहरी क्षेत्रमा चलेर पुराना भएका सवारी ग्रामिण क्षेत्रमा चलाइने भएकाले दुर्घटनामा यान्त्रिक कारण धेरै हुनसक्छ।’
हाल भिएफटिसीमा पनि मेसिनबाट नभई म्यानुअल्ली परीक्षण भइरहेको कार्यालयले जनाएको छ। विसं २०६८ मै निर्माण भएको सवारी परिक्षण केन्द्र ४/५ वर्षदेखि सञ्चालनमा नआएकाले मर्मत हुन नसक्दा मेसिनबाट परीक्षण हुन नसकेको हो।
यातायात व्यवस्था विभागले विसं २०७१ पुसमा सवारी परिक्षण केन्द्र रहेको टेकूमा नै कार्यालय स्थापना गरेर काम अघि बढाएको थियो। सरकारले आर्थिक वर्ष २०६६/०६७ मा बजेट विनियोजन गरी सवारी परिक्षण केन्द्र निर्माण सुरु गरेको थियो।
परीक्षण केन्द्रबाट सवारीको ब्रेक फोर्स कति छ, एक्सएल लोड कति, टायरको स्लिम कति जस्ता प्रविधिक कुरा देखिन्छ। यसरी परीक्षण गरिएका सवारी ब्रेक फेल हुने, टायरमा समस्या आउने लगायत कारणले दुर्घटना हुनबाट जोगाउँछ। तर नेपालमा त्यस पाटोमा कुनै चासो दिइएको पाइदैन।
सवारी परीक्षण केन्द्र संचालनमा आउने हो भने रोड सेफ्टीमा ठूलो मद्दत पुग्छ। बेलायतमा सवारी परीक्षणलाई उद्योगकै रुपमा विकास गरिएकाले रोजगारी पनि सृजना गरेको, सवारी तथा सडक सुरक्षामा फाइदा पुगेको छ।
आधुनिक फिटनेस सेन्टरमा जाँच गर्दा सवारीको अगाडि र पछाडिको पांग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमताअनुसार भार बोक्दा ब्रेकले काम गर्छ या गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पाँग्राको साइड स्लीप), हर्न, हेडलाइट लगायतको पूर्ण विवरण कम्प्युटरले नै प्रिन्ट गरेर दिन्छ।
विदेशमा सवारी परिक्षणको सर्टिफिकेटबिना सवारी गुडाउन नपाइने भए पनि नेपालमा हालसम्म सवारी परीक्षण धामीले नाडी छामेर बिरामी उपचार गरेझै हेरेर सवारीको प्राविधिक जाँचपास गर्ने गरिएको कार्यालयका एक प्राविधिकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।