काठमाडौं– नेपाल चिकित्सक संघ(एनएमए) र नेपाल डेन्टल एशोसियसन (एनडिए)ले आव्हान गरेको विरोधको समर्थन गरेको भन्दै कान्तिपुर डेन्टल एन्ड जनरल हस्पिटल, बसुन्धाराबाट २९ जना डाक्टर निकालिएका छन् । पेशागत हकहितका लागि आफू आवद्ध संस्था एनएमए र एनडिएले आव्हान गरेको इमर्जेन्सी बाहेकका सेवा बन्दमा समर्थन गर्दा निकालिनु परेको उनीहरुले बताएका छन्।
अस्पताल सञ्चालक बुद्धिमान श्रेष्ठले गालीगलोज गर्दै अपमानित ढंगले मौखिक रुपमा जागिरबाट निकालिएको ती डाक्टरहरुले बताएका छन् । पेशागत हकहितकाका आन्दोलनमा समर्थन गर्दा आफूहरु अपमानित हुनुका साथै निकालिएको भन्दै एनएमए र एनडिएमा निवेदन दिएका छन् । निवेदनमा आफूहरुलाई गालीगलोज गर्दै निकालिएकाले न्याय दिने अनुरोध गरिएको छ।
यसरी निकालिनेमा सोही अस्पतालमा कार्यरत पूर्व सचिव समेत रहेका डा प्रवीण मिश्र समेत रहेको बुझिएको छ । यी मध्येकै एक डाक्टरले भने, ‘पूर्व सचिव समेत रहेका डा प्रवीण मिश्र डाक्टर साहेबलाई समेत अपमानित गरेर निकालियो । त्यसपछि हामी पनि निस्क्यौं।’
ती डाक्टरले आफूलाई नियमित तलब पनि नदिएको गुनासो गरे । उनले भने, ‘अघिल्लो महिनाको तलब पनि दिइएको छैन । दशैंमा पनि दिन्नँ भनेर धम्काउनुभयो ।’



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।