काठमाडौं– सेवाग्राहीसँग घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। अख्तियारले रिजाललाई आफ्नो क्षेत्राधिकारभित्र रहेको भन्दै निलम्बनका लागि निर्देशन दिएको हो।
सेवाग्राहीसँग घुस लिएको सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई दोलखाबाट सरुवा गरेको थियो। उनलाई शुक्रबार मन्त्रालयमा तानिएको थियो। रिजाललाई मेलुङ गाउँपालिका-४ का कुमार लामा, कालिञ्चोक गाउँपालिकाका उदिम तामाङ र इन्द्रबहादुर तामाङसहित तीनजनासँग १ लाख ११ हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो।
सार्वजनिक मुद्दा लागेका उनीहरुलाई मुद्दा नचलाउने भन्दै सिडिओ रिजालले घुस लिएका थिए। सो घटना बाहिर आएपछि मन्त्रालयले उनलाई तानेको हो।
जिल्ला प्रशासन कार्यालय, दोलखाका प्रमुख जिल्ला अधिकारी उपसचिव रिजालले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्नका लागि रकम लिएको विषयमा अनुसन्धान गर्ने क्षेत्राधिकार अख्तियारको भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो निर्देशन दिएको हो।
अख्तियारले घुस रकम लिएको भन्ने सूचना एवं पत्रपत्रिकाहरुमा प्रकाशित समाचारहरु उपर यस आयोगबाट अनुसन्धान भइरहेकाले पदमा बहाल रहिरहँदा आफ्नो विरुद्धको प्रमाण नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुर्याउन सक्ने भएकाले निलम्बनका लागि निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।